कालिका मावि प्रथम कुलपति रनिङ शिल्ड फुटबल च्याम्पियन

जनसम्मत
माघ १३, २०७९, शुक्रबार

पोखराको कालिका माध्यामिक विद्यालय प्रथम कुलपति रनिङ शिल्ड च्याम्पियन बनेको छ।

गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्दै कालिका माध्यमिक विद्यालय च्याम्पियन बनेको हो।

पोखरा रंगशालामा आज (शुक्रबार) भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले हराउँदै कालिकाले उपाधि जितेको हो।

कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले १/१ गोल गरे। टिकाले खेलको ३५ औं मिनेटमा गोल गर्दै कालिकालाई पहिलो अग्रता दिलाए। दोस्रो हाफको ८७ औं मिनेटमा सज्जनले गोल गर्दै कालिकाको दोब्बर अग्रतासहित जित सुनिश्चित गराए।

भद्रकालीले गोल फकाउन नसकेपछि कालिकाले प्रथम कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल बन्यो। उपाधिसँगै कालिकाले ट्रफीसहित १ लाख रुपैयाँ पुरस्कार जित्यो। उपविजेता भद्रकालीले ५० हजार रुपैयाँमा चित्त बुझायो।

कालिकाका मन्दीप घले गुरुङ ‘प्लेयर अफ दि टुर्नामेन्ट’ बने। उनले १५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाए।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले विजेता तथा उपविजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरे।