माघ २३ देखि पोखराको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध

ट्राफिक प्रहरी इमानदार भएर लाग्छ: कास्की ट्राफिक प्रहरी कार्यालय

जनसम्मत
माघ १६, २०७९, सोमबार

पोखरा महानगरपालिकाले यही माघ २३ गतेदेखि पोखराको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध गर्दैछ।

महानगरले पोखराको मुख्य बजार क्षेत्रमा पृथ्वीचोक, सभागृहचोक–न्यूरोड–बीपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ।

महागनरले अहिले तोकिएको निषेधित क्षेत्रका करिब ६ ठाउँमा साना गाडी पार्किङस्थल तोकेको छ।

महानगरमा सोमबार बसेको बैठकले आउँदो माघ २३ गतेदेखि सो क्षेत्रको सडकमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो।

महानगरका अनुसार माघ २३ गतेदेखि सो क्षेत्रका सडक र पेटीमा हैन कि व्यक्तिले बनाएको भूमिगत पार्किङस्थल र महागनरले छुट्टयाएका अन्य ठाउँमा मात्र पार्किङ गर्न पाइनेछ। त्यसको लागि सवारी चालकले शुल्क भने तिर्नुपर्नेछ।

विकल्पमा महानगरले अब पोखराको करिब २५२ भूमिगत स्थलमा पार्किङ गर्न सुझाएको छ। निजी भवनभित्र रहेका भूमिगत स्थलमा सशुल्क पार्किङ गर्न कार्यपालिकाको बैठकले निर्णय गरेको छ। सो निर्णयलाई महानगरको कार्यपालिकाको बैठकबाटै अनुमोदन गरेको छ। भूमिगत स्थलमा पार्किङ गराएवापत शुल्क सम्बन्धित घरधनीले नै पाउने व्यवस्था महानगरले गरेको छ। अब, भुमिगत स्थलमा पार्किङ गराएवापत मोटरसाइकलले घण्टाको १० र गाडीको ५० रुपैयाँ तोकेर त्यसलाई अनुमोदन समेत गरेको छ।

व्यक्तिलाई अण्डरग्राउण्ड पार्किङ स्थलमा शुल्क लिएर पार्किङ पसल खोल्न स्वीकृति दिइएको छ।

महानगरका अनुसार अब, निजी घरधनीले महानगरसँग स्वीकृति लिएरमात्र पार्किङ पसल खोल्नेछन्। अन्य व्यवसायजस्तै यसबाट आम्दानी गर्नेले पनि कर बुझाउनु पर्नेछ। महागनरले दिएको स्वीकृतिसँगै सम्बन्धित घरधनीले दररेटको प्लेट राखेर त्यसको व्यवस्थापन गर्नेछन्।

पोखराको बढ्दो ट्राफिक समस्या सल्ट्याउन यो व्यवस्था फलदायी हुने र निषेधित क्षेत्रमा तोकिएका पार्किङ स्थलले तत्कालको आवश्यकता पूर्ति गर्ने पनि महानगरको ठम्याई छ।

यसअघि, महानगरले कार्तिक २५ गते व्यवसाय संचालनमा आएका भूमिगत पार्किङस्थलका संरचनाहरुमाथि डोजर चलाएका थिए।

हाल, महानगरले पोखरामा २५२ वटा घरमा भूमिगत पार्किङ स्थल रहेको जानकारी गराएको थियो। तीमध्ये किटानै गरेर भूमिगत पार्किङसहितको भवन बनाउनेहरुले महानगरबाट नक्सा पासमा छुट पनि लिएका थिए।

ट्राफिक प्रहरी इमानदार भएर लाग्छ

पोखरा महानगरले पोखराको मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि जारी गरेको सूचना कार्यान्वयन गराउन इमान्दार भएर लाग्ने कास्की जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै कास्की जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रहाश शाहले सडकमा पार्किङ गर्ने जोकोही पनि कानुनअनुसार भागीदार बन्ने बताएका छन्।

उनले भनेका छन्, ‘सडक पार्किङ गर्ने ठाउँ होइन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार पनि सडकमा पार्किङ गर्न पाइदैन्। सहरी क्षेत्रको सडकमा गरिने पार्किङ नै दुर्घटनाको मुख्य कारण बनिरहेको छ। सडकमा गरिने पार्किङका कारण सडक साँघुरो हुने, सडकमा ट्राफिक चाप बढ्नेलगायतका समस्याहरू देखिने गरेका छन्। सडकमा पार्किङ गर्ने जो सुकै भएपनि कानुनअनुसार कारबाहीका लागि योग्य ठहरिन्छ। पोखरा महानगरपालिकाले जुन सूचना जारी गरेको छ, त्यसको कार्यान्वयनका ट्राफिक प्रहरी इमानदार भएर लाग्छ।’