पोखरामा फागुन १६ देखि सृजना कप भलिवल प्रतियोगिता हुँदै

जनसम्मत
माघ १७, २०७९, मंगलवार

पाँचौं संस्करणको सृजना कप भलिवल प्रतियोगिता २०७९ आउँदो फागुन १६ देखि पोखरामा हुँदैछ।

पोखराको सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघको आयोजनामा सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आउँदो फागुन १६ गतेदेखि १९ गतेसम्म हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रतियोगितामा विजेता हुने छात्र तथा छात्रा दुबै टोलीले जनही १/१ लाख रुपैया, उपविजेताले ६०/६० हजार र तृतीय हुने विद्यालयले ३५/३५ हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने भएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष बिष्णुबहादुर गुरुङले बताए।

प्रतियोगितामा उत्कृष्ट छात्र तथा छात्रा हुने खेलाडीलाई जनही ५/५ हजारको साथमा ट्रफी वितरण गरिने भएको छ। अन्य विधामा उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरले १/१ थान भलिबल पाउनेछन्। उत्कृष्ट प्रशिक्षकले ५ हजार नगद पुरस्कार पाउनेछन्।

प्रतियोगितामा ५० बिद्यालयको सहभागिता हुने अपेक्षा गरिएको छ। कक्षा १२ सम्मका प्रतियोगितामा विद्यार्थीहरु सहभागी हुन पाउनेछन्।

राष्ट्रिय खेल भलिवलको लोकप्रियता बढाउदै बिद्यालयमा खेलको जग (बेस) बलियो बनाई जिल्ला प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष कृष्ण थापाले बताए।