पोखरामा अन्तराष्ट्रिय स्तरको आइस हक्की ट्रेनिङ सेन्टर र क्रिकेट मैदान बनाउने मन्त्री गुरुङको प्रतिबद्धता

जनसम्मत
माघ १७, २०७९, मंगलवार

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले पोखरामा अन्तर्राष्ट्रियस्तरको हाइस हक्की ट्रेनिङ सेन्टर र क्रिकेट मैदान बनाउन बिशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्कीलगायतका विभिन्न खेल संघसंस्थाहरुले मंगलबार पोखरामा संयुक्त आयोजना गरेको मन्त्री गुरुङको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो प्रतिबद्धता जनाएका हुन्।

इन्टरनेश्नल आइस हक्कीले पोखरा क्षेत्रमा आइस हक्की ट्रेनिङ सेन्टरको प्रस्ताव गरेकोले जमिन प्राप्त भए आइस हक्कीको ट्रेनिङ सेन्टर निर्माण गर्ने मन्त्री गुरुङको प्रतिबद्धता थियो।

मन्त्री गुरुङले क्रिकेट मैदान निर्माणको लागि मुख्यमन्त्रीसँग समेत एक चरणको कुरा अघि बढिसकेको बताए।

पोखराको खेल पर्यटन प्रबद्र्धन गर्न थप यी २ खेलको अन्तर्राष्ट्रियस्तरको ट्रेनिङ सेन्टर स्थापना गर्न सके गण्डकी प्रदेश र प्रदेश राजधानी पोखरालाई धेरै फाइदा पुग्ने मन्त्री गुरुङको भनाई थियो।

मन्त्री गुरुङले देश विकासका लागि खेलकुदको महत्व अहम् हुने भएको बताए। यससँगै पूर्वाद्धारहरुको विकास समेत हुनुपर्ने कुरामा उनले जोड दिए।

खेलकुद मन्त्रीको समेत जिम्मेवार सम्हालेका गुरुङले खेलकुदको अपेक्षाकृत भौतिक संरचना नहुँदा प्रदेशको खेल क्षेत्रको विकासमा कमी भएको बताए।

कार्यक्रममा वोल्दै राखेपका सदस्य राजेशकुमार गुरुङले पोखरामा स्वीमिङपुल, क्रिकेट मैदानलगायतका भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिए। मन्त्री गुरुङलाई पोखरा रंगशालामा विभिन्न खेलकुद संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले खादा, मालाले स्वागत एवं बधाई ज्ञापन गरे।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, क्षेत्रीय निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बाँनिया, कार्यालय प्रमुख डीवी नेपालीलगायतले वोलेका थिए।