पोखरामा प्रेस सेन्टरको स्थापना दिवस मनाइयो

पोखराको सिर्जनाचोकदेखी शहीदपार्कसम्म प्रभातफेरी र कोणसभा

जनसम्मत
माघ १५, २०७९, आइतबार

पोखरामा प्रेस सेन्टर नेपालको स्थापना दिवस मनाइएको छ।

स्थापना दिवसको अवसरमा आज (आइतबार) पोखरामा प्रभातफेरी गरी मनाइएको छ।

प्रेस सेन्टरका केन्द्रीय पदाधिकारी, गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरुले संयुक्त प्रभातफेरी गरेका हुन्।

पोखराको सिर्जनाचोकदेखी शहीदपार्कसम्म प्रभातफेरी गरी कोणसभा गरिएको हो।

कोणसभामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवथामन्त्री हरिबहादुर चुमानले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले अविचलित रूपमा श्रमजीवीको पक्षमा लागिरहनुपर्नेमा जोड दिए।

मन्त्री चुमानले मिसन पत्रकारिताबाट सुरु भएको प्रेस सेन्टरले छोटो समयमा जनपक्षीय पत्रकारितामा आफूलाई उभ्याएको उल्लेख गरे। समाजवादको यात्रा अघि बढाउन समेत संचारको भूमिका रहने उनको भनाई थियो। प्रदेश सरकार सञ्चार क्षेत्रसँग हातेमालो गरेर नै अघि बढ्ने मन्त्री चुमानको प्रतिवद्धता छ।

प्रेस स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार कुशुमकेशव पराजुलीले क्रान्तिकारी पत्रकारहरूले शोषित पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाउनुपर्ने बताए।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधव पनेरु, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्ले, कास्की शाखाका अध्यक्ष कृष्ण दवाडी, पोखरा महानगर कमिटीका अध्यक्ष शिवराज बस्ताकोटीलगायतले पछाडि पारिएका वर्ग र श्रमजीवी पत्रकारको मुद्दालाई प्रेस सेन्टरले सदैव प्रमुखताका साथ उठाउँदै आएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।