फागुन १ देखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता

जनसम्मत
माघ २०, २०७९, शुक्रबार

पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता संचालन हुने भएको हो।

प्रदेश खेलकुद परिषदको शुक्रबार भएको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिएका छन्।

‘नेपालको राष्ट्रिय खेल भलिबल भएका कारणले पनि हामीले प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्य मन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौं’, उनले भने, ‘यो प्रतियोगिताले खेलाडी उत्पादनसँगै प्रदेशका उत्कृष्ट खेलाडीको छनौट गर्न सहयोग पुग्नेछ।’

प्रतियोगिताको तयारीका लागि बैठकले परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय आयोजक समिति गठन गरेको छ।

समितिमा प्रदेश खेलकुदका सदस्य विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङ र महासचिव तहलसिंह थापामगर छन्।

संयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता गराउने जानकारी दिए।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टिमले ५० हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही नगद २०/२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडीले ५/५ जनाले जनही नगद १० हजारका साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन्।