मोन्टी देशाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

जनसम्मत
माघ २३, २०७९, सोमबार

भारतीय प्रशिक्षक मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

क्यानले सोमबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक गरेको हो।

देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट थिए। त्यसभन्दा अगाडी देशाईले सन् २०१५ को आइसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिमका लागि काम गरेका थिए।

क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो। मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए।

मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन थियो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । प्रभाकरले सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्।