सबैले सम्झने खालको काम गर्छु: मन्त्री जुग्जाली

जनसम्मत
माघ २३, २०७९, सोमबार

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले आफू मन्त्री भएको समयमा सबैले सम्झने खालको काम गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘आफू मन्त्री कति दिन हुने भन्ने टुंगो नभएपनि सांसद भने ५ वर्षसम्म रहन्छु।’

उनले म्याग्दीमा अलपत्र परेका विकास निर्माणका योजनाहरूको बारेमा आफूलाई पत्रकार तथा संचारकर्मीले उचित सल्लाह, सुझाव दिनुपर्ने बताए।

मन्त्री जुग्जालीले पत्रकार महासंघ म्याग्दीको भवन निर्माणका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। जिल्लामा पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि सबै सहयोग उपलब्ध गराउने उनको अर्को प्रतिबद्धता छ।

महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्काले पत्रकार महासंघलाई उपलब्ध गराएको जग्गाको प्रयोग गर्ने वातावरण मिलाइदिन तथा जिल्लाबाट भइरहेको तीव्र बसाइँसराइँ रोक्न, लगानीको वातावरण बनाउन र विकास निर्माणका पूर्वाधार निर्माणमा जोड दिए।

मन्त्री जुग्जालीले मालिका गाउँपालिकामा रहेको ढुंगाखानी (स्लेट) र बेग–भगवतीको खरी उत्खनन गर्न आवश्यक नीति–नियम बनाएर संचालनको योजना बनाएको समेत सुनाए।

‘अलपत्र रहेका योजनालाई पूर्णता दिने, स्लेट तथा खरी खानीलाई संचालनमा ल्याएमा स्थानीयस्तरमा रोजगारी सिर्जना हुने भएकाले त्यसलाई ध्यानमा राखेर अगाडि बढ्नेछु’, उनले प्रतिबद्धता जनाए।