संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको सम्बोधन

‘अब, विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ ध्यान केन्द्रीत हुनुपर्छ’

जनसम्मत
माघ २७, २०७९, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको सम्बोधन गरेकी छन्।

संसदको दुवै संसदलाई सम्वोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन्।

राष्ट्रपति भण्डारीले भनिन्, ‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरेअनुसार स्वतन्त्र ढंगले राज्यका अंगहरूले आफूलाई परिचालित गर्नुपर्छ।’

उनले अर्थतन्त्रको सुदृढीकरणका लागि गंभीर पाइला चाल्नुपर्नेसमेत बताएकी छन्। औपचारिक अर्थतन्त्रलाई प्रवर्धन गर्न र संस्थागत गर्न वृत्त नीति निर्देशित हुनुपर्ने देखिएको उनले बताएकी छन्।

राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत अभिवादन गरेका थिए। त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो।

बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए। सम्बोधन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

नेपालको संविधानमा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। गएको मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन अहिले चलिरहेको छ।

राष्ट्रपतिको सम्बोधनको प्रति प्रधानमन्त्रीले आजै (शुक्रबार) बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। दुवै सदनले राष्ट्रपतिको सम्मानमा धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ।