१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको झलक (फोटोफिचर)

म्याराथनको विभिन्न ८ विधामा ८ हजार बढिको सहभागिता छ

जनसम्मत
फागुन ६, २०७९, शनिबार

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ।

नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा आज (शनिबार) विहान ६ बजे १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको हो।

म्याराथनको विभिन्न ८ विधामा ८ हजार बढिको सहभागिता छ।

यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु छन्। महिलातर्फको हाफ म्याराथनमा ३५ जना बढिको सहभागिता छ।

यस्तै, १० किलोमिटर पुरुषतर्फ १ हजार ५ सय र महिलातर्फ ६ सय जना भन्दा बढिले सहभागिता जनाएका छन्। ७० वटा विद्यालयका करिव १ हजार ६ सय जना भन्दा बढि छात्र/छात्राले ५ किलोमिटर दौडिएका छन्। ह्विलचेयरतर्फ ४७ जना, दृष्टिविहिन दौडतर्फ ९० जना र ‘रन फर फन’ तर्फ सबैभन्दा धेरै ५ हजार जना बढि दौडिएका छन्।

प्रतियोगितामा विदेशी १६ देशका धावकसहित नेपालका ७ वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरु दौडिएका छन्।

४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ पाउनेछन्।

मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ। प्रदेशबाट सहभागी धावकहरु मध्येबाट प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछन्।

यस्तै, महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेले १ लाख ५० हजार, दोश्रो हुनेले १ लाख, तेस्रो हुनेले ७५ हजार र शान्त्वना पुरस्कार स्वरुप १५ हजार पाउनेछन्।

१० किलोमिटर महिला तथा पुरुष दौडका विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार पुरस्कार पाउनेछन्। ५ किलोमिटर छात्र/छात्रा दौडतर्फ पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यसैगरि, ह्विलचेयर र दृष्टिविहिन महिला/पुरुष दौडतर्फ पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एशोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ।

हेरौं, म्याराथनको भलकहरु फोटोफिचरमा 

 

तस्बीरहरुः पत्रकार दिपेन्द्र श्रेष्ठको फेसबुकबाट