केन्याका स्टेफन दोस्रो पटक पोखरा म्याराथन च्याम्पियन

स्टेफनले २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पूरा गर्दै ५ लाख नगद राशीसहितको पुरस्कार जिते

जनसम्मत
फागुन ६, २०७९, शनिबार

केन्याका धावक स्टेफन कोसगेईले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा दोस्रो पटक च्याम्पियन बनेका छन्।

उनले आज (शनिबार) विहान पोखरामा भएको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको च्याम्पियन बनेसँगै दोस्रो पटक उपाधि हात पारेका हुन्।

उनले १६ औं संस्करणमा पनि पहिलो सहभागिता जनाउँदै पहिलो पटक उपाधि उचालेका थिए।

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको उपाधि रक्षा समेत गरेका छन्।

पोखरा म्याराथनको इतिहासमा स्टेफनले दोस्रो पटक उपाधि रक्षा गर्ने कीर्तिमान समेत बनाएका छन्।

केन्याली धावक स्टेफनले २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पूरा गर्दै ५ लाख नगद राशीसहितको पुरस्कार जिते। उनले गतवर्ष राखेको समय भने तोड्न सकेनन्। गत वर्ष उनको समय २ घण्टा १९ मिनेट थियो।

म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याकै धावक जुलियस मोयिकीले जिते। जुलियसले निर्धारित दूरीलाई २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरे।
म्याराथनमा दोस्रो बनेका जुलियसले नगद ३ लाख रुपैयाँ पुरस्कार जिते।

नेपाली सेनाका धावक होमलाल श्रेष्ठ म्याराथनमा तेस्रो बने।

होमलालले निर्धारित दूरी २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पूरा गर्दै नगद २ लाख रुपैयाँ पुरस्कार हात पारे।

केन्याली धावक सिमिओन किप्लागाट सान्त्वना पुरस्कार जिते। उनले २ घण्टा २९ मिनेट ३५ सेकेण्डमा पुरा गर्दै ३० हजार रुपैयाँ प्राप्त गरे । उनी १६ औं संस्करणका उपविजेता समेत हुन्।