विभागीय त्रिभुवन आर्मी क्लब पुरुष भलिबल टोलीका कप्तान मानबहादुर टिममा फर्किए

स्वीकृतिविनै मैत्रीपुर्ण खेल खेल्न जापान गएको भन्दै आफ्नै गणद्धारा मानबहादुर विभागीय कारवाहीमा परेका थिए

जनसम्मत
जेठ १६, २०७६, बिहीवार

पोखरा । विभागीय त्रिभुवन आर्मी क्लबको पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ विभागीय कारवाहीपछि टोलीमा फर्किएका छन् ।

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका स्टार स्पाइकरसमेत रहेका मानबहादुरले नेपाली सेनाको आयोजनामा हुने चौथो प्रधानसेनापति कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा पुनरागमन गर्दैछन् । प्रधानसेनापति भलिबल १९ जेठबाट २३ जेठसम्म लगनखेलमा आयोजना हुँदैछ ।

स्वीकृतिविनै मैत्रीपुर्ण खेल खेल्न जापान गएको भन्दै मानबहादुरलाई विभागीय कारवाही गरिएको थियो । कारवाही स्वरुप मानबहादुरले आठौं राष्ट्रिय खेलकुद र ताप्लेजुङमा भएको पाथिभारा पुरुष भलिबल प्रतियोगिता गुमाएको थिए ।

आर्मीका प्रशिक्षक तथा वरिष्ठ भलिबल प्रशिक्षक कपिलकिशोर श्रेष्ठले मानबहादुर टोलीमा फर्किएको बताएका छन् । विभागले भन्दापनि मानबहादुरलाई आफ्नै गणले सामान्य कारवाही गरेको जानकारी गराउँदै प्रधानसेनापति भलिबलमा उनी उपलब्ध हुने प्र्रशिक्षक श्रेष्ठले बताए । उनले टिमसँगै प्रशिक्षण थालिसकेका छन् । मानबहादुरको आगमनसँगै टिम सन्तुलित हुने प्रशिक्षक श्रेष्ठले बताए ।

मानबहादुर बिनाको आर्मी टिम केही समय कमजोर जस्तै देखियो । पछिल्लो दुई प्रतियोगिताको फाइनलमा मानबहादुर विनाको आर्मी पुलिससँग पराजित हुदै उपाधि विमुख बनेको थियो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र पाथीभरा भलिबलमा मानबहादुर बिना उत्रिएको आर्मी पुलिससँग हारेको थियो ।