आजदेखि लमजुङ, पर्वत र बागलुङलगायत १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

ढुक्क भएर औषधी खान आग्रह

जनसम्मत
फागुन ११, २०७९, बिहीवार

सरकारले आज (विहीबार) देखि लमजुङ, बागलुङ र पर्वतलगायतका १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियान सुरु गर्दैछ।
२५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार लमजुङ, पर्वत, बाग्लुङलगायत झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ।

लक्षण नदेखिकाहरुमा पनि हात्तीपाइले रोग लागेको हुन सक्ने भएकाले अभियान चलाइएको बेलामा औषधि खान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह र सुझावसमेत छ।

हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन। त्यसैले रोग लाग्नु अगावै औषधि खान महाशाखाको सुझाव छ।

हात्तीपाइले रोगविरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एक पटक गरी ६ पटकसम्म खानु पर्छ। तर, धेरैजसोले हात्तीपाइलेको औषधि नखाने गर्दा रोग देखा पर्ने गरेको छ। धेरैलाई यो औषधि खाएपछि स्वास्थ्य समस्या देखिन्छ भन्ने भ्रम छ।

केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिएपनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान सुझाव दिएका छन्। २ वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने महाशाखाले जनाएको छ।

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। सरकारले ४८ जिल्लामा भने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान बन्द गरेको छ। हिमाली ८ जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला कालीकोट, मुगुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन अभियान संचालन गर्न आवश्यक भए/नभएको बारे अनुसन्धान हुँदैछ।