जोमसोममा भएको तारा एअरको जहाज दुर्घटना सम्बन्धमा जाँच आयोग प्रतिवेदनले चालक दलको त्रुटि देखायो (रिपोर्ट सहित)

‘जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टीएडब्लुएस) बन्द गरिएको थियो। त्यहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन्’

जनसम्मत
फागुन ११, २०७९, बिहीवार

मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एअरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएको छ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसमक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको हो।

२०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर (एन–एइटीरडीएचसी ६–३०) जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो। जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो।

प्रतिवेदनमा भनिएको छ, ‘जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टीएडब्लुएस) बन्द गरिएको थियो। त्यहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन्।’

सरकारले गएको जेठ १६ गते जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो।

आयोगका सदस्यहरुमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनीयर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य सचिव बुद्धिसागर लामिछाने थिए।

आयोगले अगाडि भनेको छ, ‘जहाज दुर्घटनामा चालक दलको त्रुटि पाइएको छ। जहाजमा जडित प्रणाली सही तरिकामा उपयोग गर्न नसक्दा जहाज पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ। टीएडब्लूएस प्रणाली बन्द नगरी जहाज उडाएको भए दुर्घटनामा पर्नुभन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो। जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो।’

’मौसम खराबका कारण पाइलटले अगाडिको दृश्य राम्रोसँग देख्न पाएनन्। चालक दलले कम्पनीले तोकेको उडान मापदण्ड पनि पालना नगर्दा जहाज दुर्घटनामा परेको हो’ प्रतिवेदनमा भनिएको छ।

आयोगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डसमेतको सहयोगमा प्रतिवेदन तयार पारिएको छ।

प्रतिवेदन ६० दिनको समय दिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनलगायत सम्बन्धी देश र निकायमा रिभ्यूका लागि पठाउने र त्यसपछि सबैको जानकारीका लागि सार्वजनिक गरिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस, रिपोर्ट