मनाङ मर्स्याङ्दी फुटबल क्लब मकवानपुर गोल्ड कप च्याम्पियन

जनसम्मत
फागुन १०, २०७९, बुधबार

मनाङ मस्र्याङ्दी क्लब पाँचौँ स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

हेटौँडा उपमहानगरपालिका–४ को पिप्ले क्याम्प रंगशालामा बुधवार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराउँदै मनाङ च्याम्पियन बनेको हो।

मनाङलाई उपाधि जिताउन रोशन रानामगरले गोल गरे। निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा खेलको ७८ औँ मिनेटमा मनाङका रोशन रानामगरले गरेको गोल नै निर्णायक बन्यो।

उपाधिसँगै मनाङले १५ लाख रुपैयाँ पुरस्कार समेत जितेको छ। उपविजेता शेर्पाले १० लाख रुपैयाँ पुरस्कार जितेको छ।

प्रतियोगितामा मनाङका कप्तान तथा गोलकीपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले मोटरसाइकल पुरस्कार जिते।

यस्तै, उत्कृष्ट गोलरकीपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ, मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड शेर्पाका योउमी र प्रशिक्षक मनाङका किरण श्रेष्ठ चुनिए। उनीहरूले जनही २५/२५ हजार रुपैयाँ पुरस्कार जिते।

प्रतियोगिताको विजेता बनेको मनाङलाई फाइनलमा पुर्‍याउनका लागि दीप कार्कीले महत्वपूर्ण योगदान गरे। यसअघि, सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा दीप जितका नायक बनेका थिए। उनले २ वटा पेनाल्टी प्रहार बचाएका थिए।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशी टोलीसहित १२ टोलीको सहभागिता थियो।