सुरक्षाकर्मीको मनोबल बढाउँछु: मन्त्री गाहामगर

जनसम्मत
फागुन १८, २०७९, बिहीवार

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा थापामगरले आफू सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउने पक्षमा रहेको बताएका छन्।

सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा आज (बिहीबार) बागलुङ नगरपालिका–२ स्थित कालीगण्डकीमा आयोजित जल दुर्घटना उद्धार नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिएका हुन्।

मुलुकले उत्कृष्ट नतिजा पाउन सुरक्षाकर्मीहरुलाई प्रोत्साहान दिन आवश्यक रहेको उल्लेख गरे।

‘मुलुकले रिजल्ट पाउन लगानी गर्नैपर्छ। त्यसको लागि सुरक्षाकर्मीहरुको मनोबल बढाउने गरी मैले पनि काम गर्नुपर्छ, उनले भने, ‘त्यसैले राष्ट्रसेवकहरुको मनोबल उच्च बनाउने कुरामा म कन्जुस्याई नगरिकन नैतिक रुपमा आवश्यक स्रोत साधन जुटाउने कुरामा सकारात्मक छु।’

उनले सुरक्षाकर्मीहरुलाई व्यवस्थित र मर्यादित बनाउन सधै सकारात्मक रहेको स्पष्ट पारे। सोही अनुरुपको कार्ययोजना अगाडी बढाउने उनको कथन छ।

मन्त्री गाहामगरले राष्ट्र र जनताको पक्षमा सीमित स्रोत, साधनको प्रयोगमा कार्यसम्पादन गरेको बताए। सुरक्षाकर्मीहरुको योगदानको मूल्यांकन हुने बताए।

‘स्रोत र साधनको अभावले पनि भुगोलको दर्दनाक परिस्थितिमा पनि तपाइँहरुले जोखिम मोलेर काम गर्नुपरेको छ। यसको ढिलो चाँडो मुल्यांकन हुन्छ।’ उनले भने।

उनले आन्तरिक मामिला मन्त्रालयद्वारा उद्धार अभ्यासका लागि विनियोजित बजेट यथेष्ट नभएको बताए। आगामी दिनमा विपद् व्यवस्थापनसम्बन्धी थप तालिमको व्यवस्था गर्ने बताए।

मन्त्री गाहामगरले देश र राष्ट्र हितको पक्षमा काम गर्ने कसम खाएको बताए।

उनले भने, ‘हामी जस्तो सुकै समय र परिस्थितिमा भएपनि आफ्नो कार्यक्षमता र कर्तव्य पूरा गर्नुपर्छ। फलस्वरुप हामी नेपाली भनेर गर्व गर्न पाउँछौ।’

सो उद्धार अभ्यास कार्यक्रमपछि आन्तरिक मामिला तथा कानून मन्त्री रोशन गाहामगरको सभापतित्वमा गण्डकी प्रदेश सुरक्षा समितिले विपद् व्यवस्थापनसम्बन्धी छलफल गरेको थियो।

छलफलमा आगामी वर्षातमा भइपरी हुने बाढी पहिरो तथा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र आकस्मिक उद्धारबारे छलफल गरिएको थियो।

सो बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डीआइजी बुद्धिराज गुरुङ, सशत्र प्रहरीका गण्डकी प्रदेश प्रमुख सशत्र प्रहरी नायब महानिरिक्षक शम्भु सुवेदी, नेपाल आर्मीका विजयपुर पृतनापती दिपककुमार बानिया, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललगायतको सहभागिता थियो।