रामचन्द्र पौडेल गणतन्त्र नेपालको चौथो राष्ट्रपति

निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नेम्वाङलाई १८ हजार २८४ मतभारले पराजित गर्दै पौडेल राष्ट्रपति बनेका हुन्

जनसम्मत
फागुन २५, २०७९, बिहीवार

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको चौथो राष्ट्रपति निर्वाचित भएका छन्।

राष्ट्रपतिमा चौथो कार्यकालका लागि आज (बिहीबार) निर्वाचन भएको हो।

राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दै नेपालको नयाँ राष्ट्रपति निर्वाचित भएका हुन्।

निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २८४ मतभारले पराजित गर्दै वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्। नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरे।

निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम घोषणा गरेपछि पौडेललाई विजयी भएको प्रमाणपत्रसमेत प्रदान गरेको छ।

निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा मतदान गरे। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरे।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरु मतदाताहरु हुन्छन्। यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुनेछ।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाए। यसैगरी, नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए। यस्तै, पाँच मत भने बदर भएको छ।

जसअनुसार पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे।  उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी, नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे।

यस अगाडि, ३ पटक राष्ट्रपतिको निर्वाचन भइसकेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालमा पनि निर्वाचित भएकी थिइन्।

भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्दा नेपाली काँग्रेसकी उम्मेदवार लक्ष्मी राईले ११ हजार ७३० मतभार पाएकी थिइन्। २०७२ कार्तिक ११ गते भण्डारी प्रथम महिला राष्ट्रपति बनेकी थिइन्।

यसैगरी, पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भएका थिए। तत्कालीन संविधानसभाका कुल सदस्यबाट बहुमत प्राप्त गरी २०६५ सालमा साउन ८ गते यादव विजय बन्दै देशहको पहिलो राष्ट्रपति बनेका थिए।

तत्कालीन सबैभन्दा ठूलो दल नेकपा (माओवादी) का उम्मेदवार रामराजाप्रसाद सिंहलाई हराएर यादव राष्ट्रपति बनेका थिए। यादवलाई एमालेसहित विभिन्न साना दलहरूले समर्थन गरेका थिए।

 

तस्बीरः एजेन्सी (रातोपाटी) बाट