पोखरा महानगरको स्थापना दिवस भव्यताका साथ मनाइयो

२६ जना कर्मचारीलाई दिर्घसेवा सम्मान, कडरिया वर्षकै सर्वोत्कृष्ट कर्मचारी घोषित

जनसम्मत
फागुन २८, २०७९, आइतबार

पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ।

महानगरपालिकाले नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सवका अवसरमा २६ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक समेत प्रदान गरेको छ।

समारोहमा विभिन्न सम्मानहरू समेत प्रदान गरिएको छ। पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा वर्गीकरण कार्यमा विशेष सहयोग गर्ने नापी कार्यालय कास्कीका नापी अधिकृत ई.प्रदीप श्रेष्ठ, नापी अधिकृत ई.शोभा आचार्य, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने जिल्ला ट्राफिक प्रहर कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक प्रवीण आचार्य, गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल विक्रम खड्कालाई सम्मान गरिएको छ।
यस्तै वातावरण संरक्षणका लागि महाअभियान कास्की, श्री पश्चिम पृतना हे.क्वा विजयपुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरा, श्री राईजिङ यूथ क्लब पोखरा २७, श्री भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिई., दीपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिई. लगायतलाई पोखरा महानगरपालिकाद्धारा सञ्चालित सरसफाइ अभियानहरूमा विशेष सहयोग गरे बापत कदर पत्र प्रदान गरिएको हो ।

सो पदक प्राप्त गर्नेमा किरण प्रसाद कोइराला, माधव प्रसाद तिवारी, नानीबाबु ढकाल, लोकदर्शन कोइराला, कमला गुरुङ, सावित्री तिमिल्सीना, स्थानेस्वर ढुंगाना, देवीकुमारी गुरुङ, शेरबहादुर कुँवर, बुद्धिमान नेपाली, तीर्थकुमारी अधिकारी, लक्ष्मीदेवी शर्मा, द्रोणबन्धु भुत्र्याल, सन्तबहादुर केसी, तेजबहादुर थापा, रमेश पौडेल, यज्ञबहादुर गायक, ध्रुव गायक, पूर्ण कामी, सोमाया कामी, गणेशकुमारी श्रेष्ठ, सम्झना गायक, बालु जलारी, टिकामाया जलारी, सानो मसिनी दर्जी र भगवती गायक रहेका छन्।

महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया वर्षको सर्वोत्कृष्ट कर्मचारीबाट सम्मानीत भएका छन्।

यस्तै, नेत्रप्रसाद तिमिल्सीना, हर्क गायक, नरेन्द्रदेवी पौडेल, लक्षु गायक, रोशनी थापामगर, पुरुषोत्तम थापा, शर्मिला भण्डारी, रवीन्द्र अधिकारी, लोकदर्शन कोइराला र प्रमोद गुरुङ वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानीत भएका छन्। सर्वोत्कृष्ट कर्मचारी कडरियालाई २५ हजार रुपैयाँ र अन्यलाई १५ हजार रुपैयाँ नगदका दरले सम्मान गरिएको हो।

सो अवसरमा पोखरा महानगरपालिकाद्धारा प्रकाशित पोखरा दर्पण विशेष अंक समेत विमोचन गरिएको छ। त्यस्तै, होटेल ग्रान्डलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ।

यसअघि, पोखराको मानवअधिकार चोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरी गरिएको थियो। महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाई तथा कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत गरिएको थियो।