जनताको सर्वोपरि हितलाई ध्यान देउ: प्रदेश प्रमुख गुरुङ

जनसम्मत
फागुन २८, २०७९, आइतबार

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिएका छन्।

पोखरा महानगरको सातौं स्थापना दिवस अवसरमा पोखरा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले भनेका छन्, ‘संविधानले महानगरपालिलाई आफ्ना लागि आवश्यक पर्ने नियम कानुन आफैले निर्माण गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ। नगरपालिकाले नीति बनाउन सक्छ, त्यो नीतिलाई कार्यान्वयन गर्न पाउँछ। नगरपालिकाको कोष बढाउनका लागि कर लगाउने अधिकार पनि दिएको छ। त्यस कारण जनप्रतिनिधि जनताले दिएको जिम्मेवारीको स्मरण गर्दै छातीमा हात राखेर जनताको सेवामा समर्पित हुनुपर्छ।’

नागरिकहरूलाई सेवा दिने क्रममा दलीय स्वार्थको गन्ध आउनु नहुने भन्दै उनले निस्वार्थ भावका साथ सेवा दिन आग्रहसमेत गरे।

नेतृत्वको चरित्रका विषयमा नागरिकहरू जानकार रहेको उल्लेख गर्दै प्रमुख गुरुङले सचेत हुनु आवश्यक रहेको बताए।

‘जनताका सामु आफूले खाएको बाचा बिर्सनु हुँदैन, संविधान र जनताको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भनी खाएको कसम बिर्सनु हुँदैन। आफूले गरेको बाचा र कसम प्रति सदा सर्वदा सचेत रहने, होइन भने जनताले पछाडिबाट हेरिरहेका छन्, यी कुरालाई हामीले निर्माण गर्ने नीति नियम र जनसेवाका सन्दर्भमा विशेष ख्याल गर्नुपर्दछ’, उनले भने।

जनताको हित रक्षाका लागि कुनै प्रभावको अलमलमा परेर पछाडि फर्कने छुट जनप्रतिनिधिलाई नहुने उनले सुझाव दिए।

स्थानीय सरकारका सामु जनताको अपेक्षा पूरा गर्न निकै चुनौतीपूर्ण रहेको उनले बताए। उनले उपयुक्त योजनाको सफल कार्यान्वयनमार्फत जनअपेक्षा पूरा गर्नुपर्ने बताए।

स्थानीय सरकार जनताको नजिकको सरकारका भएकाले पनि यसप्रति जनअपेक्षा निकै ठूलो रहेको प्रदेश प्रमुख गुरुङले स्मरण गराए।

संविधानको विरुद्धमा रहेका शक्तिहरूको चलखेल बढिरहेको समेत गुरुङले उल्लेख गरे। उनले जनताको भावना विपरीतका गतिविधिहरूलाई रोक्न सरकारको सेवा प्रवाहमा सुधार आवश्यक रहेको औंल्याए।