पहिलो वर्ष, आधार वर्ष, पूर्वाधारको वर्ष: मेयर आचार्य

‘पोखरालाई जीवन्त र चलायमान सहरको रूपमा विकास गर्नुपर्छ’

जनसम्मत
फागुन २८, २०७९, आइतबार

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकालाई समुन्नत बनाउने तय गरिएको बताएका छन्।

पोखरा महानगरको सातौं स्थापना वर्ष गाँठको अवसरमा प्रमुख आचार्यले भने, ‘महानगरपालिकालाई समुन्नत बनाउने तय गरिएको छ। यस सन्दर्भमा पहिलो वर्षलाई आधार वर्षका रूपमा विकासका आधारहरू तय गरिएको छ।’

बितेको नौ महिनामा थुप्रै स्मरणयोग्य कामहरू सम्पन्न गरिएको मेयर आचार्यले सुनाए।

उनले भने, ‘यसको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित आफूहरू लागि परेका छौं। शिक्षा, स्वास्थ्यलगायतका आधारभूत विषयहरूलाई मसिनो गरी अगाडी बढाएका छौं।’

समारोहमा गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले महानगरपालिकाको समग्र भूगोलको समानुपातिक तथा समन्यायिक विकासमा जोड दिए। ‘पोखरा महानगरपालिकालाई दायित्वसँगै पूर्वाधार निर्माणको जिम्मेवारी पनि थपिएको छ। पछिल्लो पटक थपिएका ग्रामीण वडाहरूमा महानगरका आधारभूत पुर्वाधारहरुको कमी छ। त्यसको आवश्यकता परिपूर्तिका लागि समन्यायिक विकास जरुरी छ।’

महानगरपालिकाले निर्माण गर्ने नीति तथा कार्यक्रममा यस प्रकारको दृष्टिकोण आवश्यक रहेको मन्त्री गुरुङले बताए।

उनले विश्वास दिलाए, ‘महानगरको समुन्नतिको यात्रामा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको छ।’

पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले पोखरालाई जीवन्त र चलायमान सहरको रूपमा विकास गर्नु पर्ने बताए।

‘पोखरा महानगरपालिकालाई जीवन्त सहरको रूपमा विकास गर्ने हामी सबैको सोंच हो। विकास मात्र पर्याप्तता होइन, विकास मात्र साध्य होइन’, संयोजक मुल्मीले भने, ‘यो सहरलाई जीवन्त राख्न राजनीतिक रूपमा, आर्थिक रूपमा, सामाजिक रूपमा, सांस्कृतिक रूपमा अथवा हामी सबै हिसाबले चलायमान हुन जरुरी छ।’

मुल्मीले अन्तर्राष्ट्रिय सहरका रूपमा विकसित हुँदै गरेको पोखराको विकासमा समस्या र चुनौतीहरू दुवै रहेको बताए। संयोजक मुल्मीले यसको सामनाका लागि एकीकृत प्रयासमा उनको जोड थियो।

पोखरा महानगरपालिका वडा नं.२ का अध्यक्ष एवं नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानाङ्गले जनताका सामु गरिएका बाचाहरू पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको जनाए।

पोखरा महानगरपालिका वडा नं.१७ की अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिकाकुमारी शाही योगीले समुन्नत महानगर निर्माणको अभियानमा हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिइन्।