धौलागिरी क्याम्पसमा चैत १८ गतेसम्म स्ववियु निर्वाचन

जनसम्मत
चैत्र ३, २०७९, शुक्रबार

बागलुङको धौलागिरी क्याम्पसमा चैत १८ गतेसम्म निर्वाचन हुने भएको छ।

तोकिएको मितिमा निर्वाचन नहुने भएपछि चैत १८ गतेसम्म जुनसुकै दिन पनि निर्वाचन हुनेगरी स्थगीत गरिएको हो।

विद्यार्थी संगठनहरुको सहमतिमा निर्वाचन सारिएको क्याम्पसले जनाएको छ। निर्वाचन गराउने वातावरण नबनेको भन्दै निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजीनामा दिएपछि निर्वाचन नै अनिश्चित बनेको हो। नेपाल विद्यार्थी संघले तत्कालै चुनावको मिति तोक्न माग गर्दै क्याम्पसमा अनसन सुरु गरेको थियो। नयाँ मिति तोकेर उनीहरुको अनसन तोडिएको हो।

स्ववियु निर्वाचनका लागि कार्यालय खुलेपछि अखिल क्रान्तिकारीले पुरै मतदाताको नयाँ परिचयपत्र वितरण गर्नुपर्ने मागसहित तालाबन्दी गरेको थियो।

उक्त मागमा क्रान्तिकारीसहितका ५ अखिलले समर्थन जनाएका थिए। एक सातासम्म ताला नखुलेपछि नेविसंघले ताला तोडिदिएको हो। त्यसपछि क्याम्पसको अवस्था तनावग्रस्त भएको हो।

२ हजार ४ सय विद्यार्थी भएपनि धौलागिरि बहुमुखी क्याम्पसमा १ हजार ७ सय विद्यार्थी मतदाता कामय भएका छन्। १० विद्यार्थी समूहले संगठन दर्ता गरेपछि निर्वाचन कार्यालयमा तालाबन्दी भएको हो।