जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

आजै नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्र प्रदान

जनसम्मत
चैत्र ३, २०७९, शुक्रबार

नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।

आज (शुक्रबार) उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभारसहित उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन्।

यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको पक्षमा संघीय संसदका १०४ र प्रदेशसभाका १६९ जना सदस्यले मत दिएका थिए।

यसैगरी, जसपाकै प्रमिलाकुमारी यादवलाई संघीय संसदका एक जनाले मत दिँदा प्रदेशसभाबाट शून्य मत परेको थियो। साथै, जनमत पार्टीकी ममता झाले संघीय संसदका २३ जना सदस्य र प्रदेशसभाका १५ जना सदस्यबाट मत पाएकी हुन्।

नेपालको पहिलो उपराष्ट्रपतिमा परमानन्द झा र दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन निर्वाचित भएका थिए।

जसपा संसदीय दलका नेतासमेत रहेका यादव बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्र प्रदान

निर्वाचन आयोगले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्र प्रदान गरेका हुन्।

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार भएको मतदानमा यादव निर्वाचित भएका हुन्।

आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिएका छन्।

उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल ८ सय ८२ मतदाता कायम छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ।

आज (शुक्रबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्यले मतदान गरेका थिए।

मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो।

पूर्वमन्त्रीसमेत रहेका यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलहरूको समर्थन थियो।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ। यसैगरी, २ पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।

 

तस्बीरः गोरखापत्र अनलाइन डट कमबाट साभार