देवराज र छेन्बी गोर्खा ट्रेइलबेजर नेपाल धरान च्याम्पियन

जनसम्मत
चैत्र ४, २०७९, शनिबार

पुरुषतर्फ देवराज बस्नेत र महलातर्फ छेन्बीमाया राई गोर्खा ट्रेइलबेजर नेपाल धरानको पहिलो संस्करणको च्याम्पियन बनेका छन्।

गोर्खा ट्रेइलबेजर नेपाल धरानको पहिलो संस्करणको उपाधि पुरुषतर्फ देवराज बस्नेतले र महलातर्फ छेन्बीमाया राईले जितेका हुन्।

निर्धारित ८.५ किमी दौड देवराजले ३१ मिनेट २५ सेकेन्डमा पूरा गरे। छेन्बीले ४३ मिनेटमा ७ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनीहरूले जनही १५ हजार रुपैयाँसहित प्राप्त गरे।

पुरुषतर्फ, दोस्रो विजेता धरानका प्रशान्त तामाङले ३७ मिनेटमा दूरी पूरा गर्दै १० हजार प्राप्त गरे। खोटाङका जुनेश खड्काले ३२ मिनेट ३२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो बने। जुनेशले ५ हजार पुरस्कार जिते। बिर्तामोडका समीर कन्दङ्वाले ३१ मिनेटमा ४९ सेकेन्डमा दूरी पार गर्दै चौथो बने। समीरले ३ हजार पुरस्कार जिते।

यसैगरी, महिलातर्फ संखुवासभाकी सुनकला राईले ४४ मिनेट १३ सेकेन्डमा निर्धारित दूरी पूरा गदै दोस्रो बनिन्। सुनकलाले १० हजार पुरस्कार जितिन्। धरानकी इन्द्रकला लिम्बूले ४४ मिनेट ५२ सेकेन्डमा तेस्रो बनिन्। इन्द्रकलाले ५ हजार पुरस्कार जितिन्। धरानकी कल्पना राईले ४६ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै चौथो बनिन्। कल्पनाले ३ हजार पुरस्कार जितिन्।

स्मृति पार्कमा औपचारिक कार्यक्रम आयोजना गर्दै दोस्रो विश्वयुद्ध लडेका २ वीर गोर्खाली योद्धाहरूलाई पनि सम्मान गरिएको थियो।

धरान उपमहानगरपालिकाको नगरप्रमुख हर्कराज राईले तेह्रथुम घर भई हाल धरानमा बस्दै आउनुभएको १०१ वर्षीय धनदल लिम्बू र संखुवासभा घर भई हाल विराटनगर बस्दै आएका १०१ वर्षीय मगबहादुर लिम्बूलाई सम्मान गरे।

वीर योद्धाको सम्मानमा स्थापित गोर्खा सिमेट्री ट्रष्ट नेपालले प्रथम गोर्खा ट्रेइल ब्लेजर, २०२३ को अवसरमा योद्धाहरूलाई पनि सम्मान गरेको हो। नेपालमा पहिलो पटक गोर्खा सिमेट्री ट्रष्ट नेपालले गोर्खा ट्रेइल ब्लेजर २०२३ नेपाल धरान आयोजना गरेको हो।