रोड रेसमा मुकेश र राजपुरा च्याम्पियन

जनसम्मत
चैत्र ४, २०७९, शनिबार

नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेस्रो मदन भण्डारी स्मृति ५ किमी रोड रेसमा च्याम्पियन बनेका छन्।

खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो भएका हुन्।

रन क्लब नेपालद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे। आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो तथा गजेन्द्र राई तेस्रो बने।

सञ्जयले निर्धारित दूरी १५ मिनेट २७.५ सेकेन्डमा तथा गजेन्द्रले १५ मिनेट ३१.९ सेकेन्डमा पूरा गरे।

त्यस्तै, महिलातर्फकी राजपुराले १८ मिनेट १६.२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै शीर्ष स्थान हात पारिन्। दोस्रो भएकी प्रहरीकै राममाया बुढाले १८ मिनेट १६.५१ सेकेन्डमा दौड पूरा गरिन्। आर्मीकी पुरनलक्ष्मी न्यौपानेले १८ मिनेट १७.०५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थानमा आइन्।

पुरुष/महिलामा शीर्षतीन स्थान हात पार्नेले क्रमश: २५ हजार, १२ हजार र ८ हजार रुपियाँ पुरस्कार जिते।

स्कुलतर्फ छात्रमा विकेश घिमिरे पहिलो तथा नवराज गुरुङ दोस्रो बने। सो स्पर्धाको छात्रामा सोनु घतानीले स्वर्ण, पूर्णिमा श्रेष्ठले रजत तथा जेशिका महर्जनले कांस्य पदक जिते। छात्र/छात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार नगद पुरस्कार प्राप्त गरे। दौडमा २ सय प्रतिस्पर्धीको सहभागिता थियो।