हिमालले जिते लिगलिगे साइकल दौडको उपाधि

जनसम्मत
चैत्र ४, २०७९, शनिबार

हिमाल टमटाले गोरखाको पालुङ्टारमा आयोजना गरिएको लिगलिगे साइकल दौडको उपाधि जितेका छन्।

उक्त स्पर्धामा अच्युतकृष्ण खरेल दोस्रो र कुमार तामाङ तेस्रो भए।

आज (शनिबार) लिगलिगकोटबाट सुरु हुने यस साइकल प्रतियोगिता गोरखा र लमजुङको विभिन्न क्षेत्रसम्म पुगेको थियो। सहभागीले पालुङ्टारकै आपँपिल, हर्मी भञ्ज्याङ, कोयापानी र रिपगाउँ हुँदै पाथीभरा, भण्डारथोकबाट चेपे खोला तरेर लमजुङको गरमबेशीसम्म पुगेर पालुङ्टार हवाइअड्डा हुँदै तालपोखरी, ठाँटीपोखरी, बार्‍हपिर्के र बधडाँडा हुँदै फेरी लिगलिगकोटको डाँडामा पुगेर सकिएको थियो। स्पर्धामा करिब १०० जना साइक्लिस्टहरुको सहभागिता थियो।

करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेसमा सहभागी हुन व्यावसायिक साइकल रेस खेलाडी र उत्सुकहरू सहभागी थिए।

साइकल दौडमा भने ३ विधामा प्रतिस्पर्धा भएको थियो। मेन्स इलाइट, मेन्स मास्टर र स्थानीय गरेर सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए। मेन्स इलाइट तर्फका विजेताले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार नगद र मेडल पुरस्कार जिते।

चौंथो र पाँचौँ स्थानमा दौड पुरा गर्ने सहभागीले भने १५ हजार र ७ हजार ५ सय रुपियाँ पुरस्कार जिते। मेन्स मास्टर्सतर्फ प्रथम स्थानमा दौड पूरा गर्नेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपियाँ प्राप्त गरे।

दौडमा पालुङ्टार, राइनस पालिका र सिराचोक गाउँपालिकाबाट दौडमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार पुरस्कार जिते।

लिगलिगकोटलाई साहसिक खेलको केन्द्रको रूपमा विकास गर्न लागि आयोजक २०७७ देखि हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको हो।

१६ औँ शताब्दीमा घले राजाहरूले शासन गर्ने गरेको लिगलिग राज्यको राजधानी लिगलिगकोट थियो। त्यस समयमा घले राजाहरूले हरेक वर्ष नयाँ शासक चुन्नको लागि दौड आयोजना गर्ने गर्दथे।

द्रव्य शाहले पनि उक्त दौडमा भाग लिएको र जित पश्चात नयाँ राजा चुन्नको लागि आयोजना गर्ने गरिएको उक्त दौड नै बन्द गराएर नेपालको एकीकरणको जग बसाउन सघाएको पनि विश्वास गरिन्छ।

अहिलेसम्म यस क्षेत्रमा हरेक वर्ष दशैंको समयमा दौडको आयोजना गर्ने गरिन्छ। लिगलिगकोट दौड जस्तै साइकल रेस पनि आयोजना गरेर यहाँको भौगोलिक अवस्था र क्षेत्रको पर्यटकीय एवम् साहसिक खेलको प्रवद्र्धन गर्न आयोजना गरिदैँ आएको आयोजक टोलीका सदस्य सञ्जीव रानामगरको भनाई छ।