पोखरामा कार्टुनिष्ट वात्सायनको नागरिक अभिनन्दन र रथारोहण

५० वर्ष पहिले नयाँ सन्देश साप्ताहिक मार्फत कार्टुन प्रकाशन गर्न सुरु गरेका कार्टुनिष्ट बरालले पछिल्लो समय भने उनले कान्तिपुर दैनिकमा कार्टुन बनाउँदै आएका छन्

जनसम्मत
चैत्र ४, २०७९, शनिबार

पोखरामा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई नागरिक अभिनन्दनसहित रथारोहण गरिएको छ।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा बराल ८० वर्ष पूरा भएको अवसरमा आज (शनिबार) उनको रथारोहणसहित अभिनन्दन गरिएको हो।

कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो।

पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा उनले पुर्‍याएको योगदान अतुलनीय रहेकाले सम्मानस्वरुप अभिनन्दन गरिएको हो।

रथारोहणमा पोखरेलीहरुको उल्लेख्य उपस्थिति थियो। वरिष्ठ साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठसँगै वरिष्ठ गायिका हरिदेवी कोइरालालगायतका कलाकारहरु रथारोहणमा सहभागी भएका थिए।

कलाकार वात्स्यायन कार्टुन सिर्जनामा अग्रणी मानिन्छन्। वि.सं. १९९९ चैत ५ मा आर्बामा जन्मिएका बरालले जगदम्बा श्री, प्रबल गोरखा दक्षिणबाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, हाँस्ने पुरस्कार, वासुदेव लुइँटेललगायतका दर्जनौ पुरस्कार प्राप्त गरेका छन्।

बरालले ‘वात्स्यायन’का नाममा व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै यस विधामा आफूलाई उच्च स्थानमा उभ्याउन सफल भएका छन्।

बरालले ५० वर्ष पहिले नयाँ सन्देश साप्ताहिक मार्फत कार्टुन प्रकाशन गर्न सुरु गरेका थिए। पछिल्लो समय भने उनले कान्तिपुर दैनिकमा कार्टुन बनाउँदै आएका छन्।