पोखरामा चैतको अन्तिम साता मनाइने फेवा नव बर्ष महोत्सवको तयारी

जनसम्मत
चैत्र १०, २०७९, शुक्रबार

नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने यो वर्षको फेवा नव वर्ष महोत्सवको तयारी थालिएको छ।

१८ औं संस्करणको फेवा नबवर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको हो।

यसका लागि समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ।

चैतको २९ देखि वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुनेछ ।

लेकसाइडका विभिन्न स्ट्रिटअन्तर्गत होटलहरु समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन्।

महोत्सवका संयोजक समेतका रहेका सुवेदीले सल्लाहकारसहितको बैठकले उपसमितिका संयोजक र एरिया संयोजकहरु तोक्ने काम सम्पन्न गरेको स्पष्ट पारे।

कार्यक्रममा बोल्दै सुवेदीले अहिले होटलहरुमा ८० देखि ९० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा पर्यटकीय सिजनमा नै आएर १५ देखि २० प्रतशित मात्र अकुपेन्सी हुँदा होटलललाई संचालन खर्च धान्न पनि मुश्किल परेको गुनासो पोखे। गत माघ १ गते पोखरामा भएको यति एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उनले स्मरण गराए।

कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य एवं संघका पूर्व अध्यक्ष भरतराज पराजुली, संघका सल्लाहकारहरु विश्वशंकर पालिखे, गोविन्दराज पहारी, लक्ष्मीवहादुर भट्टराई, संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनसमेतले बोलेका थिए।

कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो। महोत्सवमा नि:शुल्क प्रवेशको व्यवस्था रहेको छ। अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दिनेछ। फेवा तालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको विश्वास छ ।