सुरु भयो यस वर्षको एसईई परीक्षा

देशभरका ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थी परिक्षामा सहभागी हुँदैछन्

जनसम्मत
चैत्र १७, २०७९, शुक्रबार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आज (शुक्रबार)देखि शुरु भएको छ।

देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ परिक्षा संचालन भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

देशभरका ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थी परिक्षामा सहभागी भएका छन्। परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन ७८ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको छ। ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ।

उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन्। ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एसईई परीक्षा समिति गठन गरेर व्यवस्थित गरिएको छ। आजदेखि सुरु भएको परीक्षा २९ गतेसम्म संचालन हुनेछ।

यसैबीच, बोर्डले जापानमा पनि एउटा परीक्षा केन्द्र तोकेको छ। जापानको राजधानी टोकियोस्थित केन्द्रबाट १४ जना विद्यार्थीले एसईई दिदैछन्। बोर्डका अनुसार नेपाली पाठ्यक्रम अध्यापन हुने जापानका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्।