३ महिनामा ७ पटक मन्त्रीमण्डल पुनर्गठन

नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

जनसम्मत
चैत्र १७, २०७९, शुक्रबार

तीन महिनामा ७ पटक मन्त्रीमण्डल पनर्गठन भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज (शुक्रबार) ३ महिनामै सातौं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

पहिलो चरणमा काँग्रेसबाट ४ जना मन्त्री बनेका छन्। आन्तरिक विवादका कारण काँग्रेसले पाउने ४ मन्त्रालयमा पछि मन्त्री पठाइने भएको छ।
पहिलो चरणमा काँग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेका छन्।

त्यस्तै, माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ। समाजवादीकै उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन्।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।

पहिलो पटक २०४४ सालमा मरिचमानसिं श्रेष्ठको पालामा सहायकमन्त्री बनेका भण्डारी योसहित १२ औं पटक मन्त्री बनेका हुन्।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

जनमत पार्टीका अब्दुल खानले सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नदिएपछि खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन्।

सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले पूर्णता भने अझै पाएको छैन। प्रधानमन्त्री दाहालसँगै अझै कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ।

काँग्रेसभित्र शेखर कोइराला समूह र आम जनता पार्टीबाट सरकारमा सहभागी हुने भनेका प्रभु साह भने शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा समेटिएका छैनन्।

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।