पेरिस ओलम्पिक: एसिया छनोटका लागि महिला फुटबल टोलीको घोषणा

जनसम्मत
चैत्र १७, २०७९, शुक्रबार

पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि २२ सदस्यीय नेपाली महिला टोलीको अन्तिम नाम सार्वजनिक गरिएको छ।

नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज (शुक्रबार) नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।

छनोट हुने नेपाली टोलीको गोलकीपरमा कप्तान एन्जिलासहित अञ्जना रानामगर र उषानाथ छन्।

त्यस्तै, डिफेन्डरमा समीक्षा घिमिरे, हीराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ छन्।

यसैगरी, मिडफिल्डरमा रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बू, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत र अनिता केसी छन्।

त्यस्तै, फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक छन्।

ओलम्पिकको एसिया छनोटमा नेपाल समूह ’सी’ मा परेको छ।

यस समूहमा नेपाल र भियतनाम छन्। यसै समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नखेल्ने भन्दै नाम फिर्ता लिएपछि २ टोलीमात्र सहभागी हुन लागेका हुन्।

छनोटअन्तर्गत नेपालले त्रिपुरेश्वरको दशरथ रंगशालामा भियतनामसँग २ खेल खेल्नेछ। नेपालले पहिलो खेल यही चैत २२ गते खेल्नेछ भने दोस्रो खेल चैत २५ गते खेल्नेछ। छनोटको शीर्षस्थानको टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन्।