पोखरामा आज एशियन ट्राइयाथलन कप च्याम्पियनसीप हुँदै

जनसम्मत
चैत्र १८, २०७९, शनिबार

नेपाल ट्राइयथलन संघको आयोजनामा २०२३ एशियन ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप आज (शनिबार) पोखरामा हुँदैछ।

ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणीय र पर्यटकीय नगरी पोरखामा ट्राइयाथलन र दुवाथलन गरी २ विधा ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ कि.मी. दौडको ट्राइयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साइक्लिङ र २.५ कि.मी. दौडको दुवाथलन हुनेछ।

पहिलो दिन आज (शनिबार) ट्राइयाथलन र दोश्रो दिन भोली (आइतबार) दुवाथलनको प्रतिस्पर्धा हुनेछ।

फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी ४७ खेलाडीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, महिलातर्फ नेपालसहित जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अल्जेरिया, भारत गरी १९ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन्।

४२ सय डलर कुल पुरस्कार राशी रहेको ट्राइयाथलनमा महिला/पुरुष उपाधि बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर पुरस्कार जित्नेछन्।

यस्तै, दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र पुरस्कार जित्नेछन्।

२०२३ एसियन ट्राइयाथलन कप तथा दक्षिण एसियन दुवाथलन च्याम्पियनसीपको संपूर्ण तयारी पूरा भएको नेपाल ट्राइयाथलन संघले जनाएको छ।