गेन्टा र इकातेरिना बने एशिया कप ट्राइयाथलन च्याम्पियन

जनसम्मत
चैत्र १८, २०७९, शनिबार

जापानका गेन्टा युचिदा र काजाकिस्तानकी इकातेरिना सावालिना एशिया कप ट्राइयाथलन च्याम्पियन बनेका छन्।

पोखरामा आज (शनिबार) सम्पन्न एशिया कप ट्राइयाथलन तथा दक्षिण एशिया च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फ जापानका गेन्टाले उपाधि जित्न सफल भएका हुन्।

त्यस्तै, महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिना च्याम्पियन बनिन्।

नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेका गेन्टाले ७५० मिटर पौडी, २० किमी साइक्लिङ र ५ किमी दौड ५३ मिनेट १४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्।

पुरुषतर्फ नै जापानकै क्योतारो ओसिकावाले ५३ मिनेट २२ सेकेण्ड र अष्ट्रियाका लियोन पावगरले ५३ मिनेट ३६ सेकेण्डमा निर्धारित दूरी पार गरी क्रमश: दोस्रो र तेस्रो भए।

महिलातर्फ च्याम्पियन बनेकी काजाकिस्तानी इकातेरिना सवालिनाले फेवातालमा ७५० मिटर पौडीसहित २० किमी साइक्लिङ र ५ किमी दौड १ घण्टा २ मिनेट २० सेकेण्डमा पार गरिन्।

महिलातर्फ उपविजेता बन्न सफल जापानकी हिराकु फुकुओकाले १ घण्टा २ मिनेट ५३ सेकेण्ड र काजाकिस्तानका नाजेन्दा बेकमागनले १ घण्टा ४ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पार गरी तेस्रो बनिन्।
जपानको टीएनटी टिभी र टीभीएस अपाचेको प्रायोजन रहेको प्रतियोगिताको शीर्ष ३ स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी, प्रमाणपत्रका साथै नगद ६३० डलर, ५२५ डलर र ४२० डलर पुरस्कार जिते। यस्तै चौथोले ३१५ डलर र पाँचौले २१० डलर पुरस्कार जिते।