बसन्त र सोनीले जिते राष्ट्रिय ट्राइथलनको स्वर्ण

जनसम्मत
चैत्र १८, २०७९, शनिबार

नेपाली सेनाका बशन्त थारु र एपीएफकी सोनी गुरुङले राष्ट्रियतर्फको ट्राइथलन प्रतिस्पर्धामा स्वर्ण पदक हात पारेका छन्।

थारुले १ घन्टा ३ मिनट २ सेकेन्डमा दूरी पूरा गरे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दूरी पूरा गरिन्।

पुरुषतर्फको स्पर्धामा दोस्रो स्थानमा आउन सफल दिपेश चौधरीले १ घन्टा ५ मिनट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका मुकेश थारुले १ घन्टा ७ मिनट ५५ सेकेन्डमा दूरी पूरा गरे।

यस्तै, महिलातर्फ केशरी थापामगरले १ घन्टा २१ मिनट २ सेकेन्डका साथ रजत र स्वस्तिका भण्डारीले १ घन्टा ३२ मिनट ११ सेकेन्डका साथ कास्य पदक पाए।

प्रतियोगितामा नेपालसहित जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत र बंगलादेश गरी सात राष्ट्रका पुरुषतर्फ ४० र महिलातर्फ २३ गरी ६३ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताअन्तर्गत पौडी फेवातालमा प्रतिस्पर्धा गराइएको थियो।

साइक्लिङ र दौड गौरीघाट—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदैं राष्ट्रबैंकचोक,  गौरीघाटमा पुगेर समापन गरिएको थियो।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, संघका अध्यक्ष श्रेष्ठ, राखेपका निमित्ति सदस्य सचिव कुलबहादुर थापा, संघका उपाध्यक्ष सुमन देवकोटा, राखेपका सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, राखेपका सदस्य गोविन्द भट्टराईलगायतले मेडल तथा प्रमाणप्रण वितरण गरे।

प्रतियोगिताअन्तर्गत दुआथलनको प्रतिस्पर्धा भोली (आइतबार) हुने आयोजकले जनाएको छ।