वैसाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुँदै

३ पदका लागि ६९ जनाको उम्मेदवारी दर्ता

जनसम्मत
चैत्र २०, २०७९, सोमबार

वैसाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि ३ क्षेत्र बारा–२ मा २६, चितवन–२ मा २४ र तनहुँ–१ मा ९ गरि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार छन्।

बारा निर्वाचन क्षेत्र नं. २ मा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय बाराका अनुसार आज (सोमबार) साँझ ५ बजेसम्ममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २६ जनाको उम्मेदवारी परेको हो।

सत्तारूढ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। उनी गत मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए। त्यतिबेला उनलाई नेकपा (एमाले)ले समर्थन गरेको थियो।

अहिले उनलाई गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीले समर्थन गरेका छन्।

त्यस्तै, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुसवाहाले उम्मेदवारी दिएका छन्। उनी गत निर्वाचनमा यही क्षेत्रमा ३५४ मतले पराजित भएका थिए। त्यतिबेला उनी माओवादीबाट चुनाव लडेका थिए।

नेकपा (एमाले) बाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। गत निर्वाचनमा पनि एमालेले समर्थन गरेको उम्मेदवारले जितेको र अहिले आफूलाई जनताले मत दिने उनले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश खरेलले उम्मेदवारी दिएका छन्। उनी गत निर्वाचनमा काठमाडौं–१ मा पराजित भएका थिए।

यसैगरी, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, नेपाल मजदूर किसान पार्टीबाट मुक्ति यादव, नागरिक उन्मुक्ति पार्टीबाट डा. कमरुल्लाह अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनेलाल यादव तेलीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, विनोदकुमार कर्ण, ध्रवलाल हजरा लगायतले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट जसपाका रामसहाय यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। निर्वाचित भएका यादवले १३ हजार ८२२ मत पाएका थिए भने निकटतम प्रतिद्वन्द्वी माओवादीका शिवचन्द्र कुसवाहाले १३ हजार ४६८ मत पाएका थिए।

 

त्यसैगरि, चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं. २ का निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज (सोमबार) साँझ ५ बजेसम्म २ महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। त्यसमा १२ जना दलका उम्मेदवार छन् भने बाँकी १२ जना स्वतन्त्र उम्मेदवार हुन्।

यसैगरि, तनहुँ क्षेत्र नम्बर १ मा ९ दलले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा बेलुका ५ सम्म ९ दलले उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, एमालेबाट सर्वेन्द्र खनाल, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।