तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता

जनसम्मत
चैत्र २०, २०७९, सोमबार

तनहुँ–१ मा हुने उपनिर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

आज (सोमबार) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ वटा दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन्।

मंसीर ४ गते भएको निर्वाचनमा निर्वाचित नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैसाख १० गते तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सर्वेन्द्र खनाल, नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)बाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उम्मेदवारी दर्ता गर्नेमध्ये १ जना मात्रै महिलाको उम्मेदवारी परेको छ। गत मंसीर ४ गतेको निर्वाचनमा १६ जनाले तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका थिए।