गोरखाका पालिकाबीच १० बुँदे साझा घोषणापत्र जारी

असल अभ्यास आदान–प्रदान

जनसम्मत
चैत्र २४, २०७९, शुक्रबार

गोरखाका ५ पालिकाले १० बुँदे घोषणापत्र जारी गरेका छन्।

आन्तरिक तथा बाह्य पर्यटक भित्राउन साझेदारी, समन्वय तथा सहयोग गरी आन्तरिक आय वृद्धि गर्न सामूहिक पहल गर्ने र प्राकृतिक स्रोत, साधन तथा वस्तुहरूको उपयोग, संरक्षण, लाभलागत अनुमान तथा प्राप्तिमा समान अवधारणाको विकास गर्ने १० बुँदे घोषणा पत्रमा उल्लेख गरिएको छ।

पालिकाबीच असल अभ्यास आदान प्रदान तथा अन्तरक्रिया गरिएको छ।

सहिद लखन गाउँपालिकाले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकालाई एकै ठाउँमा राखेर आदान प्रदान कार्यक्रम गरेको हो।

कार्यक्रममा स्थानीय सरकारलाई चुस्त बनाउने, पारदर्शी, सुशासनयुक्त, मितव्ययी र भेदभावरहित बनाउन निरन्तर लाग्ने निर्णय गरेका छन्।

उनीहरूले एक आपसमा पर्ने समस्या समाधानका लागि आपसी सहयोग आदान–प्रदान गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

स्थानीय तहभित्र कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरूलाई सफल तथा प्रभावकारी बनाउने र समान प्रकृतिका योजना तथा कार्यक्रमहरूमा एकरूपता कायम गर्न असल अभ्यासको आदान–प्रदान गर्ने, स्थानीय तहहरूमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक स्थलहरू तथा मठमन्दिरहरूको अन्तर स्थानीय तह प्रचार–प्रसार गर्ने निर्णय भएको छ।

४ वटै स्थानीय तहको संभाव्यताको अध्ययन गरी अन्तरस्थानीय तह संचालन हुन सक्ने तुलनात्मक लाभका उद्योग तथा योजनाहरू संचालन गर्न पहल गर्ने पनि बैठकले निर्णय गरेको छ।