वैसाख–१६ मा राष्ट्रिय लेखक दिवस मनाउने तयारी

१ लाख रूपैँया राशिको ‘राष्ट्रिय लेखक पुरस्कार’समेत वितरणको घोषणा, पहिलो पटक वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँला (तिलबिक्रम नेम्बाङ)लाई लेखक पुरस्कार प्रदान गरिदैँ

जनसम्मत
वैशाख १, २०८०, शुक्रबार

नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने तयारी थालिएको छ।

नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले संपूर्ण लेखकहरूले गौरव गर्ने ‘लाइब्रेरी पर्व’का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णयसँगै तयारी थालिएको हो।

अबका दिनमा हरेक वर्ष बैशाख–१६ लाई लेखक दिवसका रूपमा मनाउन संपूर्ण लेखकहरूलाई समेत संघको आग्रह छ। नेपाली लेखक संघले उही वैशाख–१६ देखि हरेक वर्ष राष्ट्रिय लेखक दिवस केन्द्र, प्रदेश र जिल्ला ३ तहमै धुमधामका साथ मनाउन निर्देशन समेत गरेको छ।

वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय संचालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवं बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिनको सम्झनामा (वैसाख– १६) लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो। यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ।

लेखक संघले लेखक दिवस मनाउने उपयुक्त दिन सिफारिस गर्ने कार्यदल समेत गठन गरेको थियोे। डा. रत्नमणि नेपालको संयोजकत्वमा गठन भएको कार्यदलले पुस्तकालय पर्वलाई नै राष्ट्रिय लेखक दिवस मनाउँदा उपयुक्त हुने नेपाली लेखक संघको केन्द्रीय समितिलाई सिफारिस गरेको थियोे। कार्यदलको सिफारिस नै केन्द्रीय समितिले अनुमोदन गरेको थियोे।

वैसाख–१६ का सन्दर्भमा नेपाली लेखक संघ केन्द्रीय समितिले १ लाख रूपैँया राशिको ‘राष्ट्रिय लेखक पुरस्कार’ समेत वितरणको घोषणा गरेको छ। प्रत्येक २/२ वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलो पटक वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँला (तिलबिक्रम नेम्बाङ)लाई अर्पण गरिदैछ।

उक्त पुरस्कार राष्ट्रिय लेखक दिवसको अवसरमा अर्पण गरिने संघका महासचिव सोझो गाउँलेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ।