उपनिर्वाचन: तनहुँ –१ को मतगणनास्थलमा सीसीटिभी जडान

जनसम्मत
वैशाख ९, २०८०, शनिबार

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो।

मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सीसीटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

कार्यालयकाअनुसार २ वटा कोठामा मतगणना गरिनेछ। मतगणनास्थल निर्माणका लागि आवश्यक तारजालीको व्यवस्था गरिसकिएको छ।

निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम सुरक्षित रुपमा मतगणनास्थलका लागि गणनास्थल तयार पारिनेछ।

आइतबार मतदान सकिएपछि सुरक्षितरुपमा सबै मतदान केन्द्रबाट मतपेटिका दमौली ल्याइनेछ। मतपेटिका ल्याइसकेपछि राजनीतिक दलसँगको सर्वदलीय बैठकपश्चात् मतगणनाको काम सुरु गरिनेछ।

तनहुँ क्षेत्र नं १ अन्तर्गतका १ सय ५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्। प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पुगिसकेको छ। मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायतका काम हुनेछन्। उपनिर्वाचनका लागि सात सय ६० कर्मचारी परिचालन गरिएको छ।

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार ३ सय ५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।

यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिका–५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ।

उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन्। भानु नगरपालिकाका १३ वडामा ४० हजार ८ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र छन्। त्यस्तै, कम मतदाता देवघाट गाउँपालिकाका ५ वडामा १२ हजार ७ सय १२ मतदाता छन्। देवघाटमा ८ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै, आँबुखैरेनी गाउँपालिकाका ६ वडामा १३ हजार ६ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा ९ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार ६ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र २२ मतदान केन्द्र छन्। व्यास नगरपालिका–५ र ६ बाहेकका १२ वडामा ४० हजार ४ सय ४९ मतदाता कायम भएका छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।