उपचुनावः तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

जनसम्मत
वैशाख १२, २०८०, मंगलवार

प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको शानदार जीत भएको छ।

स्वर्णिमले ३४ हजार ९१९ मतसहित विजय हात पारेका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाए।

वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ छ। नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाए।

मंसीर ४ गते भएको निर्वाचनमा विजयी तत्कालीन नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो। त्यो समयमा काँग्रेसका पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी बनेका थिए। अहिले रास्वपाका उम्मेदवार वाग्लेले त्यो भन्दा बढी मत पाएका हुन्।

वाग्ले चैत १६ गते मात्र काँग्रेस छाडेर रास्वपा प्रवेश गरेका हुन्। रास्वपाले उनलाई भावी अर्थमन्त्रीका रुपमा चुनावमा अगाडि सारेको हो।