सातौं स्पोर्ट्स अवार्डः उदीयमान टाइटलको मनोनयनमा सुमित, रवि र सुवासबीच कडा प्रतिस्पर्धा

जनसम्मत
वैशाख १५, २०८०, शुक्रबार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड–२०७९ को रौनक बढ्दै गएको छ।

अवार्ड अन्तरगतका ४ विधाको मनोनयन सार्वजनिक भएपछि अवार्डप्रतिको रौनकता थप बढेको हो।

मञ्चले अवार्डको तयारीलाई थप तिव्रता समेत दिएको छ। मनोनयनमा सार्वजनिक भएका विधामध्ये उदीयमानतर्फको विधाको अवार्डमा यो वर्ष निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ।

यस विधातर्फको मनोनयनमा गण्डकी प्रदेशबाट राष्ट्रिय टिममा मात्रै नभई अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु मनोनयनमा परेका छन्। मनोनयनमा पर्ने खेलाडीहरुमा फुटबलका सुमित श्रेष्ठ, क्रिकेटका सुवास भण्डारी र भलिबलका रवि केसी छन्।

रवि केसी (भलिबल)

नेपाली भलिबलमा चम्किएको नाम हो गण्डकी प्रदेश। पुरुष भलिबलमा चम्किएको गण्डकीले पछिल्ला केही वर्ष यता पुनः नेपाली भलिबलमा हैकम जमाइरहेको छ।

तिनै गण्डकी टिमका खेलाडीमध्ये एक हुन रवि केसी। गण्डकीको भलिबलमा उदाउँदा खेलाडी हुन रवि केसी मोफसलमा चलेकै उम्दा नाम हो।

२०६६ सालमा बागलुङ गलकोट नगरपालिका ७ मा जन्मिएका रवि स्थानीय खेलहरु खेल्दै प्रदेश हुँदै यु–२३ को राष्ट्रिय टिमबाट खेलिरहेका छन्। स्पाइकर रविले २०७८ सालमा पहिलो पटक डेब्यु गरे। दोस्रो संस्करणको टाइगर कप आमन्त्रित महिला÷ पुरुष भलिबलबाट गण्डकीमा आफूलाई डेब्यु गराएका उनी छोटो समयमै राष्ट्रिय टिममा पनि परे। २०७९ मा यु–२३ राष्ट्रिय टिममा परे। उनको खेल कौशलकै कारण नेपाल यु–२३ राष्ट्रिय टिममा उनी पर्न सफल भए।

बंगलादेशमा भएको बगबन्धु एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीप उनको पहिलो अन्तर्राष्ट्रिय खेल हो। रवि बागलुङको टिम क्याप्टेन समेत हुन्। २३ वर्षीय केसी तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी हुन्। तेस्रो संस्करणको टाइगर कपसँगै, लामाचौर कप, गण्डकी प्रदेश मुख्यमन्त्री कप भलिबल प्रतियोगिताका विजेता समेत हुन्। टाइगर कप र मुख्यमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी समेत रहेका रवि नेपालका लागि उत्कृष्ट खेलाडी बन्न सक्ने एक उम्दा र उदाउँदा खेलाडी हुन्।

सुमित श्रेष्ठ  (फुटबल)

पोखरेली सुमित श्रेष्ठ फुटबलमा अहिले उदाउँदा खेलाडी हुन्। नेपालकै चर्चित ए डिभिजन क्लब मनाङ मस्र्याङदीबाट व्यवसायिक फुटबल खेल्दै आएका उनी मिड फिल्डर हुन्। तर, उनी डिफेन्डिङदेखी स्ट्राइकिङको पोजिसनसम्म खेल्न सक्ने खुबी रादख्छन्। अर्थात, फुटबलमा दुर्लभै मानिने अलराउन्डर मध्येमै उनी पर्दछन्।

पोखराको पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको फुटबल यात्राले उनलाई अहिले राष्ट्रिय टिमसम्म धकेलेको छ। विशेषगरी, एन्फाले आयोजना गरेको राष्ट्रिय फुटसल लिगबाट उनी चर्चामा आए। पोखरामै सम्पन्न फुटसल लिगमा समेत उनी उदीयमान खेलाडी घोषित भए। हाल, राष्ट्रिय सिनियर टिमबाट खेलिरहेका उनले थ्रि नेसन्स कपमा स्वर्ण समेत हात पार्न सफल भए। स्पोटर््स क्यासलबाट खेलेका उनी फुटसलकै राष्ट्रिय टिममा परे। सन् २०२२ अप्रिल १ देखि २१ सम्म किर्गिस्तानमा भएको एफसी एसियन कप छनोटमा पहिलो पटक उनले अन्तर्राष्ट्रिय डेब्यु गरे। उक्त प्रतियोगितामा उनले १ गोल समेत गरे।

२०२२ मै फुटसलबाटै फुटबलमा आएका उनी पहिलो पटक यु–२० राष्ट्रिय टिममा पर्दै साफ यु–२० च्याम्पियनसीप समेत खेले। भारतमा भएको खेलमा उनले १ गोल असिस्ट गरे। लगत्तै, २०२२ मै उनले वहराइनमा यु–२० एसियन कप छनोट खेल्न समेत पुगे। सुमितले थ्रि नेसन्स कपमा स्वर्ण, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य, पदक हासिल गरे। उनले २०२० देखि २०२२ सम्म बाँसबारी क्लबबाट २ संस्करणको बी डिभिजन लिग समेत खेले।

सुवास भण्डारी (क्रिकेट)

बागलुङका सुवास भण्डारी उमेरले १९ वर्ष पुगे।

नेपाली राष्ट्रिय यु–१९ का पहिलो रोजाईका अलराउन्डर भण्डारी गण्डकी यु–१९ का टिम कप्तान समेत हुन्।

नेपाललाई यु–१९ विश्वकप छनोटसम्म पु¥याउन उनको ठूलो योगदान रह्यो। नेपालले क्रिकेटको यु–१९ विश्वकप खेल्दैछ। यसअघि, सुवासले विश्वकप छनोटका लागि ५ खेल खेले। उनले खेलेका ति ५ खेलमा उनले कुल ७ विकेट लिए। त्यसमध्ये पनि ४ खेलमा उनले विकेट लिएका हुन्। सिंगापुरविरुद्धको १० ओभरमा २३ रन खर्चेर उनले २ विकेट लिए। हङकङविरुद्धको खेलमा १० ओभरमा १० रन खर्चेर उनले २ विकेट लिए । मलेसियाविरुद्धको खेलमा ९ ओभरमा ३० रन खर्चेर उनले १ विकेट लिए। युएईविरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए।

भण्डारी बागलुङमा जन्मिएपनि कास्कीलाई उनले आफ्नो खेलथलो बनाए। कास्कीमा नै रहने क्रिकेट सुरु गरिरहेका उनी गण्डकीका मुख्य खेलाडीमध्येकै एक उम्दा खेलाडी हुन्। राष्ट्रिय टिममा पर्नुअघि प्रदेशस्तरीय छनोट खेलमा ६ खेल खेल्दा उनले १४ विकेट लिए। उनले विकेटमात्र लिएननकी ६ खेलमा १२४ रन समेत बनाए।

प्रदेश छनोटपछि उनी सुरुवाती २८ मा पर्न सफल भए। उक्त क्याम्पमा ५ खेलमा १५ विकेट लिदाँ उनले कुल १२० रन समेत बनाए। क्याम्पको २८ पछि अन्तिम १८ हुँदै अन्तिम १४ मा पर्न सफल भए।

यही वैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा वर्ष उदीयमान खेलाडीसहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दिननाथ बरालले जनाए।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन््। लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाद्धारा सम्मान गरिनेछ।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाए ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ। यसरी, सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जी नेपाल, मझेरी रिसोर्ट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटी युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ गुरुङ छन्।

नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुल्हो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुल्हो, वल्र्ड लिंक, होटल बाराही, फूडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताललगायतले सघाउने तय भैसकेको मञ्चले जनाएको छ।