सातौं पोखरा स्पोर्ट्स अवार्डः किशोर, निरज र सुरज वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडको होडमा

जनसम्मत
वैशाख १६, २०८०, शनिबार

गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै छ।

अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ।

अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र १३ वटा विभिन्न उपसमिति निर्माण गरेको छ। यसरी निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका साथ अगाडि बढाइरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले जनाए। अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुनेछ।

अवार्ड अन्तरगतका ४ बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञासा बढ्न थालेको छ। अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ पनि उस्तै प्रतिस्पर्धा देखिन्छ। मनोनयनमा पर्न सफल सबैजना आफ्नो क्षेत्रमा अब्बल भएकोले प्रतिस्पर्धा पेचिलो बनेको छ। यो विधामा आर्चरीका किशोर कुमार गुरुङ ‘केके’, टेनिसका निरज थापा र आइटीएफ तेक्वान्दोका सुरज सुनार छन्।

किशोर कुमार गुरुङ ‘केके’ (आर्चरी)

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीले गण्डकी प्रदेशलाई अत्याधिक १३ पदक जिताउँदा किशोरकुमार गुरुङले टीम प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनकै प्रशिक्षणमा रहेको आर्चरी टिमले गण्डकीलाई ७ स्वर्ण, ४ रजत तथा २ कास्यसहित १३ पदक दिलाएको थियो।

नेपाल आर्चरी संघका केन्द्रीय सदस्यसमेत रहेका गुरुङले नेपालमै आर्चरी खेल भित्राएका आर्चरी संघ गण्डकीका अध्यक्ष बसन्त थकालीको भनाई छ। ६५ वर्षीय गुरुङ सिंगापुर पुलिस फोर्समा रहँदा उनले त्यहाँ पनि आर्चरी सिकाए। सन् १९९८ तिर सिंगापुरमै रहँदा भारतीय प्रशिक्षक लक्ष्मणबाट उनले यो खेल सिकेका हुन्। सिंगापुरबाट नेपाल आएपछि सन् २००४ मा उनले नेपालमा यो खेल सिकाउन सुरु गरे। उनको प्रशिक्षणमा नेपालले थुप्र्रै आर्चरी प्रतिभाहरु जन्माइसकेको छ।

त्यसो त उनले आर्चरी भन्दा पहिला सुटिङ सुरु गरेका थिए। तर, माओवादी द्वन्द्वका बेला यो खेललाई निरन्तता दिन नसकेपछि उनी सुटिङबाट आर्चरीतर्फ लागे। स्याङ्जा–१, आँधिखोलमा पिता स्व.लोकबहादुर गुरुङ र माता स्व. सिजा गुरुङको कोखबाट जन्मिएका किशोर हाल पोखरा–१५ लक्ष्मीटोलमा बसोबास गर्दै आएका छन् ।

निरज थापा (टेनिस)

झण्डै २ दशकअघि काठमाण्डौबाट पोखरा आएका निरज थापाले अन्ततः पोखरालाई नै घर बनाए। केही समयका लागि भन्दै आएका उनले यही घरजम गरे। अहिले उनी आफ्ना २ छोरा र अन्य थुप्र्रै प्रशिक्षार्थी खेलाडीसहित पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा टेनिस सिकाइरहेको देखिन्छन्।

निरजलाई पोखरेली टेनिस खेलाडीहरु ‘रसियन गुरु भन्ने गर्दछन्। २०५९ सालमा नदीपुरको रत्नश्री जिम टेनिस कोर्टमा उनले टेनिस सिकाउँदा पोखराका अग्रज टेनिस खेलाडीहरु समिर शेरचन, बुद्धि हिराचन, राजु श्रेष्ठ, अनिल गुरुङ, बिनोद कायस्थ, दोर्जे लामालगायत १०÷१५ जना त्यो कोर्टमा देखिन्थे। त्यसकामे केही समयपछि कुमार अधिकारी, महेश्वर तिवारीलगायतका केही युवा खेलाडीहरु त्यही कोर्टमा आए। अहिले कास्कीमा टेनिस प्रशिक्षकका रुपमा चिनिने अनिल शाही, शक्ति शर्मालगायतले निरजसंग ¥याकेट समात्न सिके। लगातार ४ वर्षदेखि नेपालको शीर्ष वरीयताप्राप्त प्रदीप खड्का उनै निरजका चेला हुन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले ३ स्वर्ण, २ कास्य जित्दा निरज यस प्रदेशको प्रशिक्षक थिए। उनको प्रशिक्षणमा रहेका प्रदीपले यही वर्ष पोखरामा सम्पन्न माछापुच्छ्र्रे बैंक राष्ट्रिय टेनिस, सिटिजन कप राष्ट्रिय ओपन तथा बुटवलको मेयर कप गरी ५ स्वर्ण पदक हाता पारे। थापाले छैठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षकको उपाधि जित्न सफल भएका थिए।

सुरज सुनार (आइटीएफ तेक्वान्दो)

४ डानप्राप्त तेक्वान्दो प्रशिक्षक सुरज सुनारको प्रशिक्षणमा रहेको गण्डकी प्रदेशका आइटीएफ तेक्वान्दो खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १४ वटा पदक दिलाउँदा यो प्रदेशलाई सर्वाधिक मेडल दिलाउने खेल आइटीएफ तेक्वान्दो बन्यो। आइटीएफ तेक्वान्दोले यो प्रदेशलाई ५ स्वर्ण, ७ रजत तथा २ कास्य पदक दिलाएको हो।

२०४५ सालमा बुवा तेजबहादुर सुनार र आमा भीमकुमारी सुनारको ३ भाई छोरामध्ये कान्छा छोराका रुपमा जन्मिएका सुरजमा सानैदेखि यस खेलको भोक र हुटहुटी थियो।

पोखरा–२९, पट्न्यारीका सुनारले २०६० सालबाट खेलाडीका रुपमा यो खेल सुरु गरेका हुन्। भण्डारढिकस्थित सैनिक आइटीएफ डोजाङमा प्रकाश थापामगरलाई गुरु मानेर ‘गी’ लगाएका उनले ०६४ सालदेखि त्यहि डोजाङमा प्रशिक्षकका रुपमा आफूलाई उभ्याए। त्यहिबेला उनले भरतपोखरी तेक्वान्दो डोजाङबाट पनि सयौं विद्यार्थी जन्माए। अहिले पनि उनीसँग सयौं खेलाडीहरु नियमित प्रशिक्षणमा आउने गर्दछन्।

यसअघि, उनले आइटीएफ जुनियरतर्फ राष्ट्रिय प्रशिक्षक, तथा आइटीएफ अन्तर्राष्ट्रिय रेफ्रीको भूमिंका पनि निर्वाह गरिसकेका छन्। खेलाडीका रुपमा पनि उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिइसकेका छन्।

अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट प्रशिक्षकसहित वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन््। लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फको पुरस्कार टाइगर ग्रुप अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका सचिव शशीकुमार पौडेलले जनाए।

अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ। यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भटाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जी नेपाल, मझेरी रिसोर्ट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटी युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ गुरुङ छन्।

नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारिक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुल्हो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था (ना), सहारा हङकङ, क्लासिक चुल्हो, वल्र्ड लिंक, होटल बाराही, फूडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, हाम्रो पोखरा सोफा होमलगायतले समेत सघाउनेछ।

कार्यक्रमको थप आकर्षणमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत रहने मञ्चले जनाएको छ।