सातौं पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट महिला खेलाडीको टाइटल हात पार्न रोजिना, सावित्रा र सुस्मिताको दौड

वैशाख २३ गते पोखरा सभागृह हलमा अवार्ड कार्यक्रम हुँदैछ

जनसम्मत
वैशाख १८, २०८०, सोमबार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न ३ जना खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ।

यसरी, प्रतिस्पर्धा गर्नेमा आर्चरीकी रोजिना थापामगर, फुटबलकी सावित्रा भण्डारी (साम्बा) र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर छन्।

उत्कृष्ट ३ को मनोनयनमा परेका रोजिना र सुस्मिता बागलुङका हुन्। सावित्रा भण्डारी (साम्बा) लमजुङ जिल्लाकी हुन्।

बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव अध्यक्ष दिननाथ बरालले जनाए।

यसअघि, यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, कराँतेकी सुष्मी श्रेष्ठले हात पारिसकेका छन्। भलिबलकी अरुणा शाहीले २ पटकसम्म यो विधाको अवार्ड हात पारिसकेकी छिन्।

रोजिना थापामगर (आर्चरी)

२०५९ सालमा जन्मिएकी रोजिना थापामगरले २०७२ सालदेखि आर्चरी खेल्न सुरु गरेकी हुन्। स्व. लक्ष्मणकुमार श्रेष्ठको स्मृतिमा ०७३ सालमा आयोजना गरिएको राष्ट्रिय आर्चरी प्रतियोगितामा स्वर्ण पदक हात पारेकी रोजिनाले ०७३ सालमै सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा २ स्वर्ण पदक हात पारेकी थिइन्।

०७४ सालमा सम्पन्न स्व.लक्ष्मणकुमार श्रेष्ठको स्मृतिमा आयोजना गरिएको चौथो राष्ट्रिय अर्चरीमा रोजिनाले रजत पदक हात पारेकी थिइन्। उनले प्लस टु उत्तीर्ण गरेकी छन्। ०७४ सालमा सम्पन्न राखेप च्याम्पियनसीपमा कास्य पदक हात पार्दै एशियन खेलका लागि छनौट भएकी थापाले सरकारले आवश्यक बजेटको व्यवस्था नगरिदिँदा प्रतियोगितामा सहभागी हुन भने पाइनन्।

०७६ सालमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी उनले पदक हात पार्न भने सकिनन्। ०७९ सालमा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा २ स्वर्ण हात पार्न सफल भइन्। दोस्रो गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगितामा समेत उनले काँस्य पदक हात पारेकी थिइन्।

सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो)

२०६० सालमा बाग्लुङमा जन्मिएकी सुस्मिता थापामगर आइटीएफ तेक्वान्दो खेलाडी हुन्। हाल, खेल व्यवस्थापनमा स्नातक तहमा अध्ययनरत् थापाले ०७४ सालदेखि खेल्न सुरु गरेकी हुन्। पहिलोपटक ०७६ मा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा सहभागिता जनाएकी उनले १ स्वर्ण र २ रजत पदक हात पार्न सफल भइन्।

०७७ मा सम्पन्न २० औ सिनियर राष्ट्रिय च्याम्पियनसीपमा सहभागी उनले ३ रजत हात पारेकी थिइन्। ०७८ मा भएको पहिलो गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण पटक हात पार्दै उत्कृष्ट खेलाडी घोषित भइन्। ०७९ मा सम्पन्न नवांै राष्ट्रिय खेलकुदमा १ स्वर्ण र १ रजत पदक हात पार्न सफल बनेकी थिइन्।

सावित्रा भण्डारी (फुटबल)

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन्। १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनी फुटबल भन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुन्। उनले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्तर्गत १०० मिटर दौडमा स्वर्ण जितेकी थिइन्।

२०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन्। सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसीपमा उनले देशको प्रतिनिधित्व गर्दै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन्।

त्यसपछि हालसम्म गरी उनले देशको प्रतिनिििधत्व गर्दै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन्। ०७० सालमा विभागीय सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबमा आवद्ध उनी हालसम्म सोही क्लबमा आवद्ध छिन्। उनी भारतको क्लवमा समेत आवद्ध रहँदै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी छिन्।

बैशाख २३ गते हुने अवार्ड कार्यक्रममा वर्ष खेलाडी महिलासहित वर्ष खेलाडी पुरुष, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ। वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन््।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाइगर ग्रुप अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए।

अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ। यसरी, सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जी नेपाल, तमु धिं युके, मझेरी रिसोर्ट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटी युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ गुरुङ, मञ्चका पूर्वअक्ष्यक्ष प्रेमनारायण न्यौपाने छन्।

नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे« गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुल्हो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था (ना), सहारा हङकङ, क्लासिक चुल्हो, वल्ड लिंक, होटल बाराही, फूडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होमलगायतको सहयोग रहने मञ्चले जनाएको छ। अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

अवार्ड कार्यक्रमको थप आकर्षणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङ्जाका मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’ प्रस्तुती रहने मञ्चले जनाएको छ।

यसैगरी, ‘भेटियो सान्नानी सोल्टिबजार’मा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसनलगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ।
प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ।