सागका खेलाडीलाई प्रशिक्षण शुरु

पोखरामै आर्चरी र प्याराग्लाइडिङका प्रशिक्षण हुने

जनसम्मत
जेठ १६, २०७६, बिहीवार

पोखरा । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालबाट सहभागी खेलाडीहरुको बुधबारदेखि विशेष प्रशिक्षण संचालन गर्ने भएको छ ।

उक्त खेलको खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण संचालन गर्ने भएको हो । विशेष प्रशिक्षणको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे । प्रशिक्षण बिहीबारदेखि सुरु हुनेछ । प्रशिक्षणमा जुडो, स्क्वास, टेबलटेनिस, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र सुटिङ खेलको गरी ८४ खेलाडीहरु सहभागी छन् ।

सागमा समावेश विभिन्न २७ खेलमध्ये पहिलो चरणमा ७ खेलका ८४ खेलाडीलाई विशेष प्रशिक्षणमा राखिएको हो । अन्य सम्बन्धित संघबाट नामवली उपलब्ध नभएकाले तत्काललाई ७ खेलको मात्र विशेष प्रशिक्षण सुरु गर्न लागिएको राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले जानकारी गराए । जेठको २० गतेसम्ममा २७ खेलकै खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने सदस्य–सचिव विष्टले जानकारी दिए ।

प्रदेश ५ मा गत बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा खेलाडीलाई प्रशिक्षणमा राखिएको हो । चौरासी खेलाडीमध्ये प्याराग्लाइडिङका १६ र आर्चरीका ४ खेलाडीले पोखरामा रहेर विशेष प्रशिक्षणमा लिनेछन् । बाँकी खेलाडीको प्रशिक्षण काठमाडौंमा हुनेछ । साग डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा हुँदैछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले शुभ कार्यले सुखद परिणाम ल्याउने विश्व व्यक्त गरे । १३ औं सागमा ऐतिहासिक नतिजा ल्याउन प्रशिक्षण सुरु गरिएको उनको भनाई थियो ।

सदस्य–सचिव विष्टले भने, ‘नाम बुझाउन ढिलाई गर्ने संघलाई पाठ होस् भनेरै ७ खेलको मात्र भएपनि पहिलो चरणमा विशेष प्रशिक्षण थालनी गरिएको हो ।’