पोखराका पत्रकार सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

जनसम्मत
वैशाख १८, २०८०, सोमबार

नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव श्रीराम सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित हुने भएका छन्।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापकसमेत रहेका अध्यक्ष सिग्देललाई चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते संघको २४ औं वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागेको हो।

सिग्देलसंगै अन्य ५ पत्रकार सम्मानित हुँदैछन्। २०५४ सालदेखि पोखरालाई कर्मथलो बनाई निरन्तर पत्रकारिता गर्दै आएका सिग्देलको नेतृत्वमा २०६० सालमा चलचित्र पत्रकार संघ कास्की स्थापना भएको थियो।

संघको केन्द्रीय समितिको बैठकले राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाका निवर्तमान अध्यक्ष तथा चलचित्र पत्रकार रवि अधिकारी, राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट श्रृष्टि पोखरेललाई सम्मान गर्दैछ।

त्यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट दीपज्योति थापा, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० कुबेर डंगोल, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८० बाट तुलसी गिरी ‘भावुक’ र राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० बाट शान्तिप्रिय समेतलाई  सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकेटाले जानकारी दिएका छन्।

बैठकले संघका पूर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका क्रियाशिल चलचित्र पत्रकारहरुलाई साधारण सदस्यता वितरण गर्ने निर्णय गरेको संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताए।