तिमिल्सिनालाई पोखरा स्पोर्ट्स अवार्डको पत्रकारिता पुरस्कार

जनसम्मत
वैशाख २२, २०८०, शुक्रबार

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिदैँ छ।

अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको २५ औं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ।

समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख हुन्। क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफ एम, एभिन्युज टेलिभिजन, सेतोपाटी डट कम, गन्थनन्यूज डट कमलगायतका संचार माध्यममा काम गरिसकेका छन्। यसअघि, सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियारले यो विधाको अवार्ड हात पारिसकेका छन्।

वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्।

उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गरेको हो। सोही बमोजिम उत्कृष्ट खेल पत्रकारको पुरस्कारका लागि पुन परिवारले सम्झौतासमेत गरिसकेको छ।

शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ।