जेठ १८ गते शनिबार रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा घोषणा कार्यक्रम हुने

जनसम्मत
जेठ १७, २०७६, शुक्रबार

पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा जेठ १८ गते शनिबार हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष विद्या भट्टराईले स्वर्गीय अधिकारीले राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै अधिकारीलाई चिरस्थायी बनाउन स्मृति प्रतिष्ठान स्थापना गर्न लागिएको बताइन् । उनी रवीन्द्रकी धर्मपत्नी हुन् ।

राज्यका लागि अनुसन्धानात्मक काममा सहयोगको लागि प्रतिष्ठान सधैं लागिरहने भट्टराईले प्रतिबद्धता जनाइन् । मानव स्रोत संशाधनको विकास गरी सीप तथा अनुसन्धानमुलक काम गर्न प्रतिष्ठान लागिरहने उनले जानकारी दिइन् ।

प्रतिष्ठान गैरनाफामुलक संस्था रहेको र यसमा तीन किसिमका सदस्यता रहने प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । साधारण सदस्यको लागि ५ सय रुपैयाँ, आजीवन सदस्यको लागि ५ हजार रुपैयाँ रहनेछ ।

जसमा ३ हजार ५ सय रुपैयाँ स्वेच्छिक रहनेछ । विशिष्ट सदस्यको लागि १ लाख रुपैयाँ शुल्क लाग्ने आचार्यले बताए । प्रतिष्ठानका उपाध्यक्ष तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले अन्य प्रतिष्ठान भन्दा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान फरक रहने बताए ।