काभा अन्तर्राष्ट्रिय महिला भलिबल : नेपाल सेमिफाइनलमा

जनसम्मत
जेठ ९, २०८०, मंगलवार

साबिक विजेता नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा स्थान बनाएको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा लगातार २ खेलमा जित निकाल्दै सेमिफाइनल पुगेको हो।

मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो।

तुलनात्मक रूपमा कमजोर बंगलादेशमाथि नेपालले २५–१०, २५–८, २५–९ को सहज जित निकालेको थियो।

यसअघि, सोमबार भएको उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई ३–० कै सोझो सेटमा हराएको थियो। लगातार दोस्रो जितसँगै समूहमा ६ अंक बनाएको नेपाल २ खेल अगावै अन्तिम ४ मा पुगेको हो।

नेपालले जितसँगै समूहमा २ खेल नै जितेको भारत पनि ६ अंक जोड्दै सेमिफाइनलमा पुगेको छ। सोमबार भएको खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो। भारतले किर्गिस्तानमाथि २५–१७, २५–८, २५–८ को जित निकालेको हो। पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

यस समूहमा लगातार २ हार खेपेको बंगलादेश र किर्गिस्तान २ खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन्। नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुनेछ। यस खेल जित्ने टोली समूह विजेता बन्नेछ।

बंगलादेशविरुद्धको खेलमा नेपालका ४ खेलाडीले डेब्यु गरेका छन्। कविता भट्ट, प्रगति नाथ, पूजा चौधरी र शान्तिकला तामाङले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। यस्तै, उद्घाटन खेलमा किर्गिस्तानविरुद्ध संगम महतो र रिमा कुँवरसमेत डेब्यु गरेका छन्।

८ टोली सहभागी प्रतियोगिताको समूह ‘बी’ मा उज्बेकिस्तान, श्रीलंका, मालदिभ्स र काजकिस्तान रहेको छ। समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

समूह ‘बी’ अन्तर्गत मंगलबार नै भएको खेलमा काजकिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हराएको छ। काजकिस्तानले २५–१६, २८–२६, १८–२५, २९–२७ ले जित निकालेको हो।