काभा महिला भलिबल : नेपाल समूह उपविजेता

जनसम्मत
जेठ १०, २०८०, बुधबार

भारतसँग हारेपनि घरेलु टोली नेपाल उपविजेता बन्दै काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल समूह ’ए’ को उपविजेता बनेको हो।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आज (बुधबार) भएको खेलमा नेपाललाई हराउँदै भारत समूह विजेता र नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो।

घरेलु समर्थकको साथ पाएको नेपाललाई भारतले ३–१ को सेटमा हराएको हो।

पहिलो सेट १२–२५ को अन्तरले गुमाएको नेपालले दोस्रो सेट २४–२६ ले गुमाएको थियो। तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेर नेपाल खेलमा फर्किएको थियो।

तर, चौथो सेट २५–२१ ले जितेर भारतले नेपालविरुद्धको जित पक्का गर्‍यो।

जितसँगै समूह ’ए’ को भारत ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ।

समूह ए को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ। समूह ए को विजेता भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा काजकिस्तान र किर्गिस्तानले जित निकालेका छन्। बुधबारको अन्तिम खेलमा माल्दिभ्स र श्रीलंका खेल्ने छन्।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता छ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता छ।

समूह ’ए’ मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन्। समूह ’बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन्।
राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।