भारत काभा महिला भलिबल च्याम्पियन

सलिना उत्कृष्ट लिबेरो

जनसम्मत
जेठ १४, २०८०, आइतबार

भारतले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्यो।

एकपक्षीय प्रदर्शन गरेको भारतले २५–१५, २५–२२, २५–१८ को नजिता निकालेको थियो।

यसअघि, तेस्रो स्थानका लागि भएको खेलमा साबिक विजेता नेपालले उज्बेकिस्तानलाई ३–१ को सेटमा हराउँदै तेस्रो बन्यो। तेस्रो बन्ने क्रममा नेपालले २०–२५, २५–१६, २५–१५, २५–१३ को जित निकाल्यो।

प्रतियाेगितामा काजकिस्तान उपविजेता बन्दा, नेपाल तेस्राे, उज्बेकिस्तान चाैथाे, श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ भएका छन्।

सलिना उत्कृष्ट लिबेरो

नेपाली महिला भलिबल टोलीकी सदस्य सलिना श्रेष्ठ काभा महिला भलिबल च्यालेन्ज कपको उत्कृष्ट लिवेरो घोषित भएकी छिन्।

प्रतियोगिता अवधीभर सानदार प्रदर्शन गरेकी सलिनाले उक्त अवार्ड प्राप्त गरेकी हुन्।

नेपालले उज्वेकस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान ल्याउँदै गर्दा सलिनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। नेपाल सेमिफाइनलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भए पनि सलिनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

नेपाल भारतसँग समूह चरणको खेलमा ३–१ को सेटमा पराजित हुँदा पनि सलिनाले उच्च प्रदर्शन गरेकी थिइन्। समग्र प्रतियोगिताभर नेपाली टोलीकी लिबेरो सलिनाको उच्च प्रदर्शन थियो।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता थियो। प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकस्तानको सहभागिता रहेको थियो।

विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलगायतले पुरस्कार प्रदान गरे।