पोखरामा ३ दिने खेल पत्रकारिता तालिम सुरु

जनसम्मत
जेठ १७, २०८०, बुधबार

पोखरामा बुधबारबाट खेल पत्रकारितासम्बन्धी तालिम सुरु भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन्।

नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारको क्षमता अभिविृद्धि गर्ने खालका कार्यक्रममा आफ्नोतर्फबाट सहयोग रहने बताइन्।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमबारे मन्त्री सिंखडाले प्रकाश पारिन्।

मन्त्रालय सम्हालेको बल्ल १६ दिनमात्र भएकोले कतिपय कुरा जानकारी लिने क्रममा नै रहेको उनको भनाई थियो।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, मञ्चका उपाध्यक्ष एवं तालिम संयोजक सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले पत्रकारिता क्षेत्रका विविध विषयमा प्रकाश पारेका थिए ।

गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म संचालन हुने मञ्चले जनाएको छ। तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा अगाडि बढ्न ईच्छुक पत्रकारको समेत सहभागिता छ।

प्रदेश खेलकुद परिषद गण्डकी विशेष सहयोगमा आयोजना भएको तालिमको पहिलो दिन भलिवल खेलबारे पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालले सहजीकरण गरें।

कास्की जिल्ला भलिवल संघका उपाध्यक्ष रहेका लम्साल गण्डकी विश्वविद्यालयमा व्याचलर डिग्री स्पोटर््स मेनेजमेन्ट कोर्ष अध्यनरत छन्। उनले भलिवल खेलबारे जानकारी दिँदै रिपोर्टिङका क्रममा अपनाउनुपर्ने सावधानीबारे औल्याए।

तालिमको प्रमुख प्रशिक्षक रहेका आइसीसीका एम्पायर दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले बिहिबार क्रिकेट खेलको रिपोर्टिङबारे सहजिकरण गर्नेछन्। नेपाल टेलिभिजनको समाचार प्रमुख रहेका सुवेदी नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष समेत हुन्। उनले क्रिकेटका अलावा समग्र खेल पत्रकारिता गर्दा अपनाउनुपर्ने सावधानीबारे समेत अवगत गराउनेछन्।

दोस्रो दिनमा नै टेनिसका भेट्रान खेलाडी तथा टेनिस प्रतियोगिताका निर्देशक राजन पौडेलले टेनिस खेलसँग सम्बन्धित विषयमा सहजीकरण गर्नेछन्।

तालिमको तेस्रो दिन शुक्रबार एनए कोर्ष गरेका फुटबल रेफ्री सन्तोष गुरुङ र सुशिल केसीले फुटबल खेलबारे प्रशिक्षण गराउनेछन्। गुरुङ नेपाल फुटबल रेफ्री संघका सदस्य तथा केसी कास्की जिल्ला रेफ्री संघका अध्यक्ष हुन्। तालिममा ७० जनाभन्दा बढी खेल पत्रकारहरुको सहभागिता रहेको संयोजक सुरज श्रेष्ठले जनाए।

पोखरा ट्रेड मल चिप्लेढुंगामा रहेको क्लासिक चुल्होमा आयोजना गरिएको तालिममा पोखरा महानगरपालिकाको समेत सहयोग रहेको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो। यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो। हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन्।